Logo

कविता र नृत्यमा रम्यो नेचा सल्यान



सोलुखुम्बु। सोलुखुम्बुको नेचा सल्यान दुई दिनसम्म नृत्य र कवितामा रमायो। दियालो साहित्य सरगम र मित्रलाल शर्मा स्मृति पुस्तकालयको संयुक्त आयोजनामा पहिलो दिन फागुन २४ मा नेचा सल्यान गाउँपालिकास्तरीय अन्तरविद्यालय (कक्षा ७-१२) लोकनृत्य प्रतियोगिता र दोस्रो दिन फागुन २५ मा कविता वाचन प्रतियोगिता सम्पन्न भयो ।

लोकनृत्यतर्फ केदार मावि प्रथम, महेन्द्रोदय मावि द्वितीय र हिमाल दर्शन मावि तृतीय स्थान प्राप्त गर्न सफल भए। उत्कृष्ट भेषभूषातर्फ बीपी मावि, सल्यान र उत्कृष्ट नृत्य निर्देशनतर्फ गणेस्थान मावि, गैरीले आफ्नो स्थान सुरक्षित गरे।

कविता वाचन प्रतियोगितामा हिमालदर्शन मावि नेचाका सञ्जीव भण्डारी प्रथम, महेन्द्रोदय मावि सल्यानकी लक्ष्मी काफ्ले द्वितीय, केदार मावि नेचाका सिमन राई तृतीय र बीपी संस्कृत मावि  सल्यानकी प्रतिभा काफ्लेले सान्त्वना स्थान प्राप्त गरे। कविता प्रतियोगितामा प्राज्ञ धीरेन्द्र प्रेमर्षि र कवि शिव घिमिरे निर्णायक थिए।

नेचासल्यान गाउँपालिकाको सहयोगमा केदार माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा  मित्रलाल शर्मा स्मृति पुस्तकालयका संरक्षक इन्द्रकुमारी शर्माले विजेता छात्रछात्रालाई पुरस्कार वितरण गरिन्। कार्यक्रममा गाउँपालिका अध्यक्ष धनजन राई, साहित्यकार धीरेन्द्र प्रेमर्षि, प्रसिद्ध गायिका लोचन भट्टराई, मैथिली गायिका रूपा झा, दियालो साहित्य सरगमकी अध्यक्ष एवं कवि शान्ति शर्मा, शिव घिमिरे, गणेशप्रसाद खतिवडा, कोपिला घिमिरे, लोचन शर्मा, नृत्य निर्देशक विन्द्रकुमार राई र रोहितबहादुर बस्नेत लोचन शर्मा, एकराज शर्मा, छवि बास्तोला लगायतको उपस्थिति थियो।

 



प्रतिक्रिया दिनुहोस्