Logo

प्रचण्डविरुद्धको मुद्दामा आजै आदेश आउने



काठमाडौं, २६ फागनु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्चमा परेको रिटमा सुनुवाइ सकिएको छ । न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजालसमा सुनुवाइ भएको मुद्दाको आदेश आज नै आउने बताइएको छ ।

रिट निवेदकको तर्फबाट रिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेलगायतले बहस गरे । यसअघि बिहीबार उक्त मुद्दा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिएको थियो। हिजो उक्त रिट हेर्न नभ्याइनेमा परेको थियो ।

प्रचण्डले २०७६ साल माघ १ गते माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी जनयुद्धसँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले आफूमाथि १७ हजार हत्या गरेको आरोप लाग्ने गरेको भन्दै सबै आरोप आफूमाथि लगाए अन्याय हुने बताएका थिए । तर आफूले पाँच हजारको जिम्मा लिन तयार रहेको र बाँकी १२ हजारको जिम्मा तत्कालीन राज्य पक्षले लिनुपर्ने उनको भनाई थियो ।

सोही अभिव्यक्तिलाई आधार बनाएर अधिवक्ता ज्ञानेन्द्र आरन, कल्याण बुढाथोकी लगायत २८ जनाले प्रचण्डलाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश माग गर्दै रिट निवेदन दिएका थिए ।

सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गरेको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको संयुक्त इजलासले उक्त रिट दर्ताको आदेश दिएका थिए । संयोग आज सुनुवाइका लागि उक्त रिट न्यायाधीश खतिवडाकै इजलासमा परेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्