Logo

माओवादी आन्दोलनमा आएको टुटफुटको शृङ्खला रोकिनुपर्छ– आहुती (भिडियोसहित)



काठमाडौं, २६ फागुन । वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुति) ले माओवादी आन्दोलन भन्नेवित्तिकै प्रचण्डलाई चिन्नु अस्वभाविक नभएको बताएका छन् । आज संयुक्त मोर्चाको स्वरुप र कार्यक्रम सम्बन्धी अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी आन्दोलन आफूहरुको रगत र पसिनाबाट स्थापित भएको बताए । ‘माओवादी आन्दोलन वा समाजवादी क्रान्तिको सपना भन्नेवित्तिकै आम मानिसले देख्दा प्रचण्डहरुलाई देख्दा रहेछन् । यो अस्वभाविक पनि होइन । लामो समय हामी सबैको रगत र पसिनाबाट स्थापित जमातलाई देख्नु यो अन्यथा होइन,’– उनले भने ।

नेपालमा संसदवादी दलभित्र उदासिनता र बेचैनी रहेको उनले बताए । आफूहरु त्यसको ठीक विपरीत आशावादीता र समर्पणको राजनीतिमा रहेको उनको दाबी छ । ‘अवसरवादको हालीमुहाली छ । संसदवादी खेमाभित्र । ठीक त्यसको विपरीत क्रान्तिको निम्ती, समर्पणको निम्ती, निरन्तर बलिदानी, सिद्धान्तको रक्षा र सिर्जनात्मक प्रयोगका निम्ती, राजनीतिमा एउटा वर्ग संघर्षको ठूलो चाप निर्माणका लागि आशावादीता र समर्पणको साथ त्यो संसदवादाको विपरीत लडाइ चलिरहेको छ,’– उनले भने ।

माओवादी आन्दोलनका घटकहरुमा टुटफुटको शृङ्खला बन्द हुनुपर्ने उनको बुझाई छ । संख्या गन्दा माओवादी कति चिरा भयो भन्ननै मुस्किल भइरहेको अवस्थामा अब यो शृङ्खला रोकिनुपर्ने उनले बताए । ‘माओवादी आन्दोलन र परिवर्तनकामी आन्दोलनमा आएको टुटफुटको शृङ्खला छ । संख्याहरु गन्दै गयो भने कतिवटा भन्न मुस्किल छ । यो लहर अब रोकिनु पर्छ,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot