एकीकृत हुँदै विभाजित माओवादी


काठमाडौं,फागुन २७ । माओवादी जनयुद्धको समयमा एउटै पार्टीमा रहेका तर अहिले विभिन्न समूहमा विभाजित माओवादी धारका पार्टीहरू एकीकृत हुनेक्रममा छन् ।

माओवादी जनआन्दोलनका कमान्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएपछि ती पार्टीहरू एकीकृत हुन थालेका हुन् ।

माओवादी धारका राजनीतिक दलहरूले विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्ने निष्कर्षसहित जनताका बीचमा पुग्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको माओवादी धारका राजनीतिक दलहरूको बैठकले शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरूप व्यवस्थापन गरिनुपर्नेमा जोड दिएका छन् ।

बैठकले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका सन्दर्भमा समान धारणाका साथ जनतामा जाने निर्णय गरेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बताए । पौडेलका अनुसार २८ फागुनमा संयुक्त पत्रकार सम्मेलन गर्ने, ३० फागुनमा संयुक्त अन्तक्र्रिया कार्यक्रम गर्ने समेत निर्णय भएको छ ।

अन्तक्र्रियामा माओवादी घटकका शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । जनदबाबका लागि यस्तो कार्यक्रम गर्न लागिएको नेताहरूको निष्कर्ष छ । विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनुपर्ने भन्दै राजनीतिक स्थिरता र स्थायी शान्तिको पक्षमा जनतामा जाने निर्णय भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा क्रान्तिकारी–माओवादीका नेता सीपी गजुरेल, नेपाल समाजवादी पार्टीका नेता हिसिला यमी, नेकपा बहुमतका नेता हेमन्तप्रकाश ओली, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, जनार्दन शर्मा प्रभाकर, देवेन्द्र पौडेल, खड्कबहादुर विक, कर्णजीत बुढाथोकीलगायतको सहभागिता रहेको थियो । राजधानी दैनिकबाट