Logo

उपराष्ट्रपति महिला भए सुनमा सुगन्ध हुन्थ्योः कांग्रेस नेता



काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले संविधान लेख्दा भएको त्रुटिका कारण महिलाले उपराष्ट्रपति नपाउने अवस्था आएको बताएका छन् ।
‘संविधान लेख्दा नै त्रुटि भएको छ । धारा १७ मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको साटो लिंग र समुदाय लेखेको भए उपयुक्त हुन्थ्यो । अथवा संविधानमा जे लेखिएको भए पनि दलहरुले सीमान्तकृत महिलालाई बनाए हुन्थ्यो । यो आम भावना पनि हो । खस आर्यका राष्ट्रपति भएपछि फरक लिंग, त्यसमा पनि फरक समुदायको भए सुनमा सुगन्ध हुन्थ्यो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै पराजुलीले भने ।
संविधानको लुप होल देखाएर दलहरुले भरसक महिला, दलित, जनजाति, उत्पीडितलाई प्रमुख पद नदिने हो कि भन्ने शंका बढाएको पनि उनले औंल्याए । नेता पराजुलीले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर याउन कांग्रेस सजग रहेको पनि बताए ।
उनले कोसी प्रदेशको नामकरण उचित भएको दाबी पनि गरे । पराजुलीले भने, ‘हरेक पहिचानको सम्मान गर्नुपर्छ । पहिचान भनेको जातीय मात्र होइन । कोसी भनेको सभ्यता हो, इतिहास हो ।’

उपराष्ट्रपति निर्वाचनपछि प्रदेशमा सरकार फेरबदल हुने र कोसी प्रदेशको नेतृत्व नेपाली कांग्रेसले गर्ने पनि उनले बताए । पराजुलीले थपे, ‘कोसी प्रदेशमा नेपाली कांग्रेस दोस्रो ठूलो दल हो । एमाले सरकारबाट बाहिरिएपछि समृद्धि र विकासको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्