Logo

वृहत शान्ति सम्झौताको हस्ताक्षरकर्तामाथि नकारात्मक क्रियाकलाप गर्ने टिक्दैन– प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वृहत शान्ति सम्झौतको हस्ताक्षरकर्तामाथि कसैले नकारात्मक क्रियाकलाप गरेमा त्यो नटिक्ने बताएका छन् । आज (सोमबार) अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक व्यवस्था उल्ट्याउने खेलमा केही गणतन्त्र विराधी तत्वहरु रहेको बताएका हु्न् । उनले प्रतिक्रियावादीको गल्तिबाट जनताले फाइदा लिनसक्नु पर्ने बताए । माओवादीलाई सिध्याउन पर्छ भन्ने राजा महाराजाको सपनालाई आफूहरुले चकनाचुर पारेको स्मरण गर्दै नेपालको संविधानलाई उल्ट्याने काम आफूहरुलाई स्वीकार्य नहुने बताए । विस्तृत शान्ति सम्झौतालाई उल्ट्याने खेलमा कोही भएमा त्यो शक्ति नटिक्ने उनको चेतावनी छ ।

‘अहिले पनि कही कतैबाट विस्तृत शान्ति सम्झौता, त्यसको हस्ताक्षरकर्ता र संविधान निर्माणमाथि नेतृत्वदायी भूमिका खेल्नेहरुमाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गर्छ भने त्यो टिक्दैन,’– उनले भने ।

जनयुद्ध र जनआन्दोलनका सबै सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको बताउँदै उनले यो सबैका लागि खुसी र गर्वको कुरा भएको बताए । साथै, जनयुद्ध दिवसलाईसमेत राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा भएको पनि उनले स्मरण गराए । ‘हामीले जनयुद्ध दिवसलाई पनि राष्ट्रिय रुपमा विदा दिएर यसलाई सम्मानित गरेका छौं भने सबै सहिदहरुलाई राष्ट्रिय सहिदको घोषणा गरेर त्यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेर हाम्रीले सम्मान गरेका छौं,’– उनले भने ।

आफूहरुले नेपाली जनताको मुक्तिका लागि अभियान चलाउँदाको समय सहज नभएको स्मरण गर्दै उनले अहिलेको अवस्था आउन धेरै शिक्षकहरुको त्याग र बलिदान रहेको स्मरण गरे । ‘अहिले पनि एकथरी मान्छेहरु यो गणतन्त्रलाई, समानुपातिक समावेशी व्यवस्थालाई, यो देशका सबै उत्पीडित वर्ग समूदायले पाएको हक अधिकारलाई खोस्न उद्धत छन् । कही न कही अहिले पनि घेरा हाल्ने र त्यो विचारलाई र परिवर्तनलाई उल्ट्याउने कसरतहरु भइरहेका छन् । तर, जहिले पनि हामी राष्ट्र र जनताप्रति इमानदार भईराख्छौं । आफ्नो ठाउँबाट लगातार भ्रम चिर्ने, घेरा तोड्ने र अगाडि बढ्ने संकल्प गरिराख्छौं । इतिहास साक्षी छ, हामीलाई कुनै पनि शक्तिले हामीलाई हराउन सक्ने छैन,’– उनले भने ।

साथै शिक्षा क्षेत्रलाई सम्मान गर्ने कुरा र शिक्षण पेशालाई कदर गर्ने कुरामा राज्य अझै पछाडि रहेको उनले बताए ।विकसित देशहरुमा अन्य पेशाको तुलनामा शिक्षकलाई मर्यादित र सम्मानित पेशाको रुपमा लिइने भन्दै नेपालमा पनि शिक्षकहरुको पेशालाई मर्यादित बनाउन आफू लागि पर्नेसमेत प्रतिवद्धता व्यक्त गरे । देशको राजनीतिले नयाँ लय पक्रिरहेको बताउँदै उनले आफ्नै कार्यकालमा संघीय शिक्षा ऐन पारित गराएर शिक्षकको पेशालाई व्यवस्थित र मर्यादित बनाउने बताए ।

नेपालकोृ इतिहासमा राजनीतिक चेतना, समाजिक सांस्कृतिक चेतना अभिवृद्धि गर्न र रुपान्तरणको अभियान अगाडि बढाउने कुरामा शिक्षकहरुको भूमिका अतुलनीय रहेको उनले बताए । शिक्षकहरुको योगदान अरुसँग तुलना हुन नसक्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ । राजनीतिक चेतना जागरण गर्ने अगुवाको रुपमा नेपालमा शिक्षकहरुको भूमिका अग्रणी रहेको उनले स्मरण गराए । अहिले नेपालको राजनीतिक नेतृत्वको ठूलो हिंसा पनि शिक्षक समुदायबाटै आएको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्