Logo

गणतन्त्र एमालेको उद्देश्य होइन, शान्ति प्रक्रियामा उनीहरुको भूमिका केही पनि छैन- आहुती



काठमाडौं, ३० फागुन । वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि द्वन्द्वकालीन घटनालाई लिएर अदालतमा दर्ता भएको रिट राखेज हुनुपर्ने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री प्रचण्डको नाममा अदालतले कारण देखाउ आदेश जारी गर्नु नै गलत भएको बताएका हुन् । ‘विस्तृत शान्ति सम्झौता संविधानले ग्रहण गरेको छ । संविधान अन्तर्गत अदालत छ, संसद् छ र सम्पूर्ण मान्छेहरु छन् । त्यसकार द्वन्द्वकालीन घटना विरुद्ध अदालत जाने कुरा ठीक भन्नै सकिन्न,’– उनले भने ।

अदालतले मात्रै द्वन्द्वकालीन समस्या समाधान गर्न नसक्ने भएकाले नै अन्मिनले शान्ति सम्झौतमा सहयोग गरेको उनले बताए । प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट स्वतः बदरभागी रहेको उनले दाबी गरे । ‘यो रिट स्वतः खारेज हुनुपर्छ । यो व्यवस्था ल्याएको अदालतले हो र ? जनताले होला नि त ? व्यवस्था बदलेको जनताले हो,’– उनले भने ।

शान्ति प्रक्रियालाई पूर्वमाओवादीहरुको सवाल हो भनेर गलत प्रचार भएको उनले बताए । साथै, शान्ति प्रक्रियामा एमालेको कुनै भूमिका नभएको उनको आरोप छ । एमालेले कुर्सीको राजनीतिका लागि राष्ट्रिय एजेण्डाहरुलाई धरापमा हालेको उनको आरोप छ । एमाले विस्तृत शान्ति सम्झौतमाप्रति इमानदार हुन नचाहेको उनले बताए । एमाले इमान र नैतिकताको राजनीतिमा चुकेको उनले टिप्पणी गरे ।

‘एमालेको के मा चाहिँ भूमिका थियो र ? परिवर्तनमा के मा भूमिका थियो र ? केहीमा पनि भूमिका छैन । विस्तृत शान्ति सम्झौतको पनि मुख्य स्टेकहोल्डर उनीहरु होइनन् । उनीहरुको हैसियतै थिएन् । जन आन्दोलनमा पनि उनीहरुको के हैसियत थियो र ? अरु आइसकेपछि कांग्रेसले पहल गरेपछि र माओवादी तयार भएपछि उनीहरु तन्केर आएका हुन् । गणतन्त्र उनीहरुको उद्देश्यनै थिएन । गाडा चढेर आउँदैन भन्थे । अरुले दवाब सिर्जना गरेपछि दवाब सिर्जना भएर जनआन्दोलनमा आएका हुन् । उनीहरुको भूमिका नै शान्ति प्रक्रियामा के नै थियो र ? उनीहरु त त्यसबाट आएको रहल पहलबाट आफ्नो आफ्नो प्राणा धानेका हुन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot