Logo

प्रचण्डको सरकार गणतन्त्र आएपछिको सबैभन्दा राम्रो सरकार हुनेछः सल्लाहकार



काठमाडौं, २ चैत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नीति तथा कार्यक्रम र बजेट आउँदासम्म जनतामा नयाँ अनुभूति हुने बताएका छन् ।
‘प्रधानमन्त्री प्रचण्ड तीन महिना केही काम नगरीकन बसेको साँचो होइन । बीचको अवधिमा केही सुस्तता आएको अवश्य थियो । अब त्यसको क्षतिपूर्ति हुने गरी सरकार अघि बढेको छ । अब सरकारले नयाँ गति लिन्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै गजुरेलले भने ।
प्रधानमन्त्रीको कार्यशैलीमा पनि परिवर्तन देखिएको उनले औंल्याए । गजुरेलले थपे, ‘प्रचण्डको कार्यशैलीमा दुईचोटि प्रधानमन्त्रीत्व सम्हालेको अनुभवबाट सिकेर हिजोभन्दा आज फरकपन आएको छ । भेटघाटभन्दा काममा केन्द्रित हुनुभएको छ । आफ्नो कार्यालय र अरु मन्त्रालयतिर ध्यान दिनुभएको छ । नीति कार्यक्रम र बजेट आउँदासम्म जनतालाई नयाँ अनुभूति हुन्छ । लक्षण सकारात्मक छ ।’
जनताको आशा र विश्वासलाई निराशामा बदल्न सरकार लागिरहेको पनि उनले बताए । गजुरेलले भने, ‘अब अर्थतन्त्रमा सुधार नगरी हामीले अरु काम गर्न सक्दैनौं । जनतालाई समृद्धिको खाका दिनैपर्छ । शान्तिप्रक्रिया टुंगो लगाउनै पर्छ । त्यसका लागि संसद्मा विश्वासको मत प्राप्त भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ र स्थिर खालको सरकार बन्छ । जनता प्रतीक्षामा छन् । अब जनतालाई निराश हुन दिनहुन्न । सरकारको काम जनताको निराशालाई आशामा बदल्ने हो ।’
प्रचण्डको सरकार गणतन्त्र आएपछिको यो सबैभन्दा राम्रो सरकार हुने दाबी पनि उनले गरे । गजुरेलले भने, ‘रातारात चकाचौध त हुँदैन । तर यो सरकारले सकारात्मक वातावरण बनाउँछ ।’



प्रतिक्रिया दिनुहोस्