Logo

प्रचण्ड ज्यादै अविश्वसनीय पात्र होः विष्णु रिजाल



काठमाडौं, २ चैत । नेकपा एमालेका नेता विष्णु रिजालले वर्तमान सत्ता गठबन्धन एजेन्डाहीन, दिशाहीन र गन्तव्यहीन भएको बताएका छन् ।
‘उग्र वामपन्थी माओवादी र दक्षिणपन्थी कांग्रेसका कारण देशमा दुर्भाग्य सुरु भएको छ । महिना महिनामा समीकरण बदल्ने प्रवृत्तिले जनतामा व्यवस्थाप्रति वितृष्णा उत्पन्न गराउने काम भयो । गठबन्धनको न्यूनतम लक्ष्य र साझा कार्यक्रम छैन । यसले जनतालाई आश्वस्त पार्न सक्दैन । एजेन्डाविहीन, दिशाविहीन र गन्तव्यविहीन गठबन्धनले मुलुकलाई प्रगति र उन्नतितिर लैजान सक्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै रिजालले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अविश्वसनीय पात्र भएको आरो पनि उनले लगाए । रिजालले भने, ‘प्रचण्डले १० वर्ष भारतमा सुरक्षित बसेर नेपालमा हत्या, हिंसा र आतंक मच्चाउनुभयो । आज पनि अरुकै सेवामा तल्लीन हुनुहुन्छ । उहाँ आकाशवाणीबाट आएका सन्देशको कारिन्दाबाहेक मात्र हो । प्रचण्डको नीति, काम र आकांक्षाबारे हजार जिब्रा भएका शेषनागले पनि वर्णन गर्न सक्दैनन् । उहाँ ज्यादै अविश्वसनीय पात्र हो । उहाँका नीच टिप्पणीको प्रतिटिप्पणी गर्नु आवश्यक पनि हुँदैन ।’
प्रचण्ड वुहाओ सम्मेलन रद्द गरेर भारत जान लाग्नुभएको हो भन्ने प्रश्नमा रिजालले भने, ‘उहाँ दिल्लीको रोहवरमा आरजु देउवा र आफूबीच भएको सहमति कार्यान्वयन गर्यौं भनेर जानकारी दिनु जान लाग्नुभएको होला । आज उहाँ कमजोर धरातल भएको प्रधानमन्त्री हो । २७५ सदस्यीय संसद्मा जम्मा ३२ सिटको पार्टीको नेताले भारतसँग कसरी आफ्ना कुरा राख्न सक्छ ? एमाले नभए कांग्रेस, कांग्रेस नभए एमालेलाई उपयोग गरेर कसरी कोही बलियो हुन सक्छ ?’ भारतले नेपालसँगका समस्या कार्पेटमुनि राखेर सम्बन्ध बलियो बनाउन नसक्ने पनि उनले औंल्याए ।
कांग्रेस र माओवादीले एमालेका बारेमा भ्रमपूर्ण र गलत कुरा फैलाइरहेको आरोप रिजालले लगाए । उनले भने, ‘हामी सत्य निरुपण र मेलमिलापको विरोधी होइनौं । १६ वर्ष पहिले जन्मेको बच्चा मतदाता हुने बेला भइसक्यो । प्रचण्ड तीन चोटि प्रधानमन्त्री हुनुभयो । अनि हामीलाई दोषारोपण गर्ने ? राजासँग गर्धन जोडिएको कांग्रेस र भारतमाा बसेर नेपाललाई वितण्डा मच्चाउने माओवादीले एमालेलाई आरोपित गर्नु आकाशतिर थुक्नुजस्तै हो । उनीहरुबाट न गणतन्त्र आउँथ्यो, न संघीयता आउँथ्यो । १२ बुँदे सहमतिमा केपी ओलीको भूमिकालाई कम आँक्नेलाई दया मात्र गर्न सकिन्छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot