Logo

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार भन्छन्- ‘प्रधानमन्त्रीको हात बलियो पार्नुपर्छ’



काठमाडौं, २ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले प्रधानमन्त्रीको हात बलियो हुने गरी मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।
हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्रीको हात कमजोर हुनेगरी मन्त्रिपरिषद विस्तार नहुने बताएका हुन् ।

‘मन्त्रिपरिषद विस्तारमा प्रधानमन्त्रीको हात बलियो चाहिँ पार्नुपर्छ । प्रधानमन्त्रीको हात कमजोर पारेर मन्त्रिपमण्डल बन्दैन । पात्रहरु पनि हरेक पार्टीले सक्षम पात्र दिनपर्यो । जनताको करको पैसा खाने मान्छेहरु जथाभावी राख्न हुँदैन,’– उनले भने ।

साथै, अब हुने मन्त्रिपरिषद् विस्तारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सहभागिता नरहने उनले बताए । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी भने सरकारमा सभागी हुने निश्चित रहेको उनले बताए । रास्वपाको सभापति लामिछानेमा सरकारमा गएर जनताका लागि केही गर्छु भन्ने भावना भएकाले उनले यो अवसर नगुमाउने गजुरेलले बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सामेल हुन्छ । रविजी सरकारमा गएर जनताका लागि केही गर्नुपर्छ भन्ने सोचमा हुनुहुन्छ । त्यो अवसर पाएको मलाई लाग्छ रास्वपाले गुमाउँदैन,’– उनले भने । ‘प्रचण्डको कार्यशैलीमा दुईचोटी प्रधानमन्त्रीत्व सम्हालेको अनुभवबाट सिकेर हिजोभन्दा आज फरकपन आएको उनले बताए । अहिले प्रचण्ड भेटघाटमा भन्दा काममा केन्द्रित भएको उनको दाबी छ ।साथै, आगामि नीति कार्यक्रम र बजेट आउँदासम्म जनतालाई नयाँ अनुभूति उने उनले बताए । अहिलेको सरकारको लक्षण सकारात्मक रहेको उनको भनाई छ ।

जनताको आशा र विश्वासलाई निराशामा बदल्न सरकार लागिरहेको पनि उनले बताए । गजुरेलले भने, ‘अब अर्थतन्त्रमा सुधार नगरी हामीले अरु काम गर्न सक्दैनौं । जनतालाई समृद्धिको खाका दिनैपर्छ । शान्तिप्रक्रिया टुंगो लगाउनै पर्छ । त्यसका लागि संसद्मा विश्वासको मत प्राप्त भएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ र स्थिर खालको सरकार बन्छ । जनता प्रतीक्षामा छन् । अब जनतालाई निराश हुन दिनहुन्न । सरकारको काम जनताको निराशालाई आशामा बदल्ने हो ।’
प्रचण्डको सरकार गणतन्त्र आएपछिको यो सबैभन्दा राम्रो सरकार हुने दाबी पनि उनले गरे । गजुरेलले भने, ‘रातारात चकाचौध त हुँदैन । तर यो सरकारले सकारात्मक वातावरण बनाउँछ ।’

 



प्रतिक्रिया दिनुहोस्