Logo

प्रचण्ड नेतृत्वको सरकारलाई १६१ सांसदले विश्वासको मत दिने



काठमाडौं, चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ चैतमा विश्वासको मत लिँदै छन् । आज उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेबारेको पत्र संसद् सचिवालयमा बिहीबार दर्ता भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विश्वासको मत लिने प्रस्ताव राख्न अनुरोधसहितको सो पत्र दर्ता भएको हो ।

यस अघि २ सय ६८ सांसदबाट विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत नदिने भएपछि संख्या घटनेछ । एमाले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारीमा हुनेछ ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई दुई सांसदबाहेक सबै दलका २ सय ६८ मत पाएका थिए ।

एमालेसहितका दलको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड नेतृत्वको सरकारलाई एमाले समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिन लागेका हुन् । १० पुसमा बनेको एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा गठबन्धन राष्ट्रपति निर्वाचनअघि फुटेर नयाँ गठबन्धन बनेको छ ।

अहिले प्रचण्ड नेतृत्वको सरकारलाई विभिन्न १० दलको समर्थन रहेको छ । अहिलेको सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्रसँग ३२, कांग्रेससँग ८९, जसपासँग १२, एकीकृत समाजवादीसँग १०, लोसपासँग ४, नाउपा ४, जनमत पार्टीसँग ६, आमजनता पार्टीसँग १, राष्ट्रिय जनमोर्चासँग १ र नेपाल समाजवादी पार्टीसँग १ सांसद संख्या रहेको छ ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत विश्वासको मत दिँदै छन् । १ सय ६१ सांसदले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेछन् । सरकार निर्माणका लागि १ सय ३८ सांसदको मत आवश्यक पर्छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्