Logo

क्रिकेटरको जीविकोपार्जनमा राज्यले ध्यान दिएनः क्यान अध्यक्ष



काठमाडौं, ३ चैत । नेपाल क्रिकेट एसोसिएसन (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले विभिन्न समस्याका बावजूद आईसीसी पुरुष क्रिकेट विश्वकपमा सीधै छनोट हुनु नेपाली क्रिकेट अझै माथि जाने संकेत भएको बताएका छन् ।
‘हामीकहाँ डे–नाइट क्रिकेट खेल्ने स्टेडियम छैन । फ्लोलाइटको व्यवस्था छैन । दर्शक बस्ने कुर्सी छैनन् । यस्तो अवस्थामा पनि आम दर्शकको प्रोत्साहनका कारण नेपाली टिमले नेपालको क्रिकेट अझै माथि जाने संकेत गरेको छ । यो सुखद खबर हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै चन्दले भने ।
विश्वकप छनोटमा दक्षिण अफ्रिका, श्रीलंका, आयरल्यान्ड, जिम्बाबे आदि मुलुकसँगको प्रतिस्पर्धा नेपालीका लागि निकै चुनौतीपूर्ण हुने पनि चन्दले औंल्याए । उनले भने, ‘नेपालसँग खेल्ने देशहरुमा उत्कृष्ट टिम र सुविधा सम्पन्न पूर्वाधार छन् । दक्षिण अफ्रिका, श्रीलंका, आयरल्यान्ड, जिम्बाबे आदि मुलुकसँगको प्रतिस्पर्धा सजिलो छैन । यसमा राज्यले ध्यान दिन सके नेपाली क्रिकेट अझै माथिल्लो लेबलमा जान्छ र क्रिकेटले नेपाललाई चिनाउन सक्षम हुन्छ ।’
सरकारले उत्कृष्ट पूर्वाधारमा बजेट घटाएको र खेलाडीको जीविकोपार्जनमा समस्या रहेको पनि उनले बताए । चन्दले भने, ‘हामीले सरकारलाई गुहार्दै छौं । तर पूर्वाधारको बजेट घट्दै गएको छ । खेलाडीको जीविकोपार्जनमा समस्या भएको छ ।’
नेपाली क्रिकेट टिमको प्रदर्शन कुनै एक खेलाडीमा मात्र निर्भर नरहेको पनि चन्दले बताए । उनले थपे, ‘पछिल्लो एक महिना नेपाली क्रिकेट टिम लयमा थियो । त्यसैले एकजुट भएर उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । हामी एक खेलाडीमा मात्र निर्भर छैनौं । टिम नै सक्षम छ । नयाँ कोचको मिहिनेत त छँदै छ ।’
यति हुँदाहुँदै पनि स्पिनर सन्दीप लामिछानेको धेरै महत्त्वपूर्ण भूमिका रहेको पनि उनले औंल्याए । साथै चन्दले क्यानलाई राजनीति गर्ने थलो नबनाउन पनि आग्रह गरे । उनले भने, ‘कसै-कसैको व्यक्तिगत महत्त्वाकांक्षा होलान् । तर क्यानभित्र कुनै समस्या छैन ।’



प्रतिक्रिया दिनुहोस्