Logo

लुम्बिनी प्रदेश : सरकार ढाल्ने कसरतमा गठबन्धन



दाङ, चैत ३ । आज उपराष्ट्रपतिको निर्वाचन भएपछि वर्तमान गठबन्धनमा आवद्ध दलहरू लुम्बिनी प्रदेशको सत्ता फेरबदलको कसरतमा लाग्ने भएका छन्।

सरकारमा रहेका तथा समर्थित दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मुख्यमन्त्रीलाई विश्वासको मत लिन बाध्य पार्ने तयारीमा गठबन्धन छ। सरकारलाई समर्थन गरेका सबै दलहरूले समर्थन फिर्ता लिए मुख्यमन्त्री लीला गिरी अल्पमतमा पर्ने निश्चित रहन्छ। यो अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने हुन्छ।

गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकारमा आफ्नो नेतृत्व सहितको सत्ता समीकरण निमार्णका लागि कसरत थालेको छ। सत्ता समीकरणका लागि माओवादी केन्द्रसहित सरकार समर्थित अन्य दलसँग पनि कांग्रेसले संवाद गरिरहेको छ।

उपराष्ट्रपतिको निर्वाचनपश्चात नयाँ सत्ता समिकरण निर्माण गर्ने मौखिक सहमति भएको कांग्रेस लुम्बिनी प्रदेशले जनाएको छ। ‘गठबन्धनमा आवद्ध दलबीचमा अब नयाँ सत्ता समीकरण निर्माण गर्नेभन्ने बारेमा छलफल भएका छन्,’ कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने, ‘उपराष्ट्रपतिको निर्वाचनपछि यो कसरत अझ बढेर जान्छ र नयाँ समीकरण निर्माण हुन्छ।’

स्वाभाविकै रूपमा कांग्रेस गठबन्धनको ठूलो दल रहेको र एमालेको मुख्यमन्त्री रहेको स्थानमा कांग्रेसको नेतृत्वको सरकार निर्माण गरिनुपर्ने लबिङमा कांग्रेस छ। ‘गठबन्धनको ठूलो दल कांग्रेस हो र ठूलो दलको हिसाबले लुम्बिनी प्रदेश सरकारको नेतृत्व कांग्रेसले नै पाउने गरी सहमति हुन्छ,’ कांग्रेस प्रदेश सभापति पुनले भने, ‘सोहीअनुसार हामीहरूले छलफललाई तीव्र्र पारेका छौं।’

यता वर्तमान सत्ता साझेदार दल माओवादी केन्द्रले पनि सत्ता समीरकणको प्रक्रिया प्रारम्भ हुने बताएको छ। तर सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने भन्नेबारेमा अहिले माओवादीले निर्णय भने गरिसकेको छैन। केन्द्र निर्देशनअनुसार अगाडि बढ्ने निचोडमा पुगेको माओवादीले केन्द्रको निर्देशन कुरेर बसेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्