Logo

अढाइ महिनामा दोस्रो पटक विश्वासको मत



काठमाडौं, चैत ३ । करिब अढाई महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा पुनः विश्वासको मत लिने मिति तय भएको छ। चैत ६ गते विश्वासको मत लिने गरी समय तालिका मिलाउन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्लाई लिखित पत्राचारसमेत गरेका छन् । संसद्का प्रवक्ता एकराम गिरीले चैत ६ गते विश्वासको मत लिनका लागि बिहीबार प्रधानमन्त्रीको पत्र आएको जानकारी दिए।

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा अघिल्लो सत्ता गठबन्धन टुटेपछि सरकारका सामेल दलले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए। सत्ता सहकार्यमा रहेको दलको समर्थन फिर्ता भएपछि संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले छोटो अवधिमा नै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन फिर्ताको मितिले चैत १२ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक समयसीमा प्रधानमन्त्रीसँग छ। यसअघि पुस २६ गते पहिलो पटक प्रधानमन्त्रीले विश्वासको मत लिएका थिए ।

नियुक्ति भएको करिब तीन महिनाको अवधिमा राजनीतिक कारणले दोस्रो पटक प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव सदनमा राख्न लागेका हुन् ।विश्वासको मतका लागि प्रधानमन्त्रीलाई १३८ सांसद आवश्यक पर्नेछ। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२ सिट छ। यस्तै कांग्रेसको ८९ सिट भए पनि एकको मताधिकार छैन। राष्ट्रिय स्वतन्त्र पार्टीको २०, एकीकृत समाजवादीको १०, जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, नागरिक उन्मुक्तिको तीन सिट छ। यस्तै जनमोर्चाको एक सिट प्रतिनिधि सभामा छ। एमालेको ७९ र राप्रपाको १४ सिट प्रधानमन्त्रीको विपक्षमा हुने निश्चितजस्तै छ।



प्रतिक्रिया दिनुहोस्