Logo

एमाले प्रचण्डजस्तो पिपलपाते पार्टी होइन निः विशाल भट्टराई



काठमाडौं, ३ चैत । नेकपा एमालेका नेता विशाल भट्टराईले उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई गठबन्धन दलहरुकै मत आउने दाबी गरेका छन् ।
‘राष्ट्रपतिमा गठबन्धनको एक मात्र उम्मेदवार हुनुहुन्थ्यो भने अहिले तीन जना हुनुहुन्छ । एमालेको मत एकढिक्का छ । तर गठबन्धनमा विभाजन आएको छ । आधिकारिक उम्मेदवार को हो भन्ने प्रस्ट छैन । एमालेलाई अरु दलले पनि मत दिन्छु भनेका छन् । असाध्यै लामो इतिहास र उँचो व्यक्तित्वको उम्मेदवार अष्टलक्ष्मी शाक्यले जित्ने थुप्रै आधार छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै भट्टराईले भने ।
संसदको बनोट हेर्दा केपी शर्मा ओलीले भनेजस्तै जुनसुकै बेला विघटन हुने सक्ने पनि उनले औंल्याए । भट्टराईले थपे, ‘हाम्रा अध्यक्षले संसद् विघटनको वकालत गर्नुभएको होइन, प्रधनमन्त्रीले विघटन गर्न सक्ने तर्क गर्नुभएको हो । त्यसको अर्थ आज वा भोलि नै हुन्छ नै होइन । संविधानको धारा ७६ को ५ सम्म पुग्दा पनि सरकार स्थिर नभए त विघटन भइहाल्छ नि । हामीले अपनाएको प्रणाली बेलायती मोडलको हो । वेस्ट मिनिस्टर मोडलमा प्रधानमन्त्री स्थिर र संसद अस्थिर हुन्छ भनिन्छ । हामीकहाँ अदालतले उल्टापाल्टा फैसला गरेकाले पो नभएको हो त ।’

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘प्रचण्डलाई हामी कुनै पनि हालतमा विश्वासको मत दिँदैनौं । एमाले दुईचार दिन थान मन्त्रीका लागि त्यसरी गिरेर जाँदैन । कसैले गोप्य मन्त्रणा गर्दैमा अडान बदल्ने कुरा आउँदैन नि । एमाले प्रमुख प्रतिपक्षी दल हो । प्रचण्ड पो विदेशीको भ्रमण र अह्रनखटनपछि तुरुन्तै बदलिनुभयो त । एमाले पिपलपाते पार्टी होइन नि ।’

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएको स्थितिमा कांग्रेस र एमाले मिलेर सरकार बनाउन सकिने उनले बताए । भट्टराईले भने, ‘कांग्रेस र एमालेबाहेक अरु जम्मै भेला पार्दा पनि बहुमत पुग्दैन । नेपाली जनताले २०७९ मा त्यस्तै खालको संसद बनाए । त्यसैले जतिखेर पनि जता पनि ढल्किन सक्ने सम्भावना छ । त्यसैले भोलिको दिनमा कांग्रेसको नेतृत्वमा एमालेसहितको सरकार बन्न पनि सक्छ ।’



प्रतिक्रिया दिनुहोस्