Logo

चितवन २ मा रवि लामिछानेको विकल्प छैन, हामी मैदानमा एक्लै छौं– मनिष झा



काठमाडौं, ३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले चितवन २ मा हुने उपनिर्वाचनमा रवि लामिछानेको विकल्प नभएको बताएका छन् । हिजो (विहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चितवन २ मा पहिलेको भन्दा बढी मत ल्याएर निर्वाचित हुने बताएका हुन् ।

‘चितवनमा उम्मेदवारीको प्रक्रियामा कुनै आशंका छैन । उम्मेदवारी दिइसकेपश्चात परिणाममा पनि हाम्रो कुनै आशंका छैन । हामी पहिला भन्दा कति प्रतिशत बढाउँछौं र बढाउन सकिन्छ भन्नेमा मात्र छौं । यसमा जित हारको त कुरै छैन । हाम्रो निश्चित छ,’– उनले भने ।

चितवन २ को उपनिर्वाचनको मिति नजिकिँदासम्म अरु दलको उम्मेदवारको चर्चा नै सुरु नभएको उनले बताए । चितवन २ को मैदानमा रास्वपा एक्लै भएको उनको दाबी छ । ‘निर्वाचन आउन धेरै दिन बाँकी छैन तथापि कुनै दलले अहिलेसम्म उम्मेदवार निश्चित गरेका छैनन् । ३५ दिन बाँकी छ । अरु कुन–कुन दलले को–को उम्मेदवार ल्याउँछ भन्ने कुरा चर्चा पनि सुरु भएको छैन । त्यही कुराले नै देखाउँछ हामी मैदानमा एक्लै छौं,’– उनले भने ।

चितवन २ को उपनिर्वाचनमा कुनै दलसँग पनि गठबन्धन नहुने उनले बताए । रास्वपाका लागि कुनै गठबन्धन आवश्यकता नभएको र आफूहरु जितका लागि एक्लै सक्षम रहेको उनको भनाई छ । ‘हामीलाई सहकार्य आवश्यक नै छैन । हामी एक्लै जिन्त सक्षम छौं,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्