Logo

प्रमुख सचेतक गिरीलाई प्रश्न– एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ ?



काठमाडौं, ४ चैत । नेकपा एमालेका नेता एवं संसदीय दलका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट आफ्नो पार्टीलाई झड्का नलागेको दाबी गरेका छन् ।
‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हाम्रो पक्षमा हुँदैन भन्ने करिब करिब जानकारी नै थियो । त्यसैले परिणामलाई हामीले अनौठो रुपमा लिएका छैनौं । सामान्य र स्वाभाविक रुपमै लिएका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै गिरीले भने ।
राष्ट्रिय राजनीतिमा एमाले नएक्लिएको पनि उनले दाबी गरे । गिरीले भने, ‘एमाले कसरी एक्लिन्छ ? हामी जनताको बीचमा छौं । जनताले पहिलो लोकप्रिय मत हामीलाई नै दिए । जनताले साथ छाडे मात्र हामी एक्लिने हो । एमालेले सत्ताको बागडोर नसम्हाल्ने हो भने देश बरबाद हुन्छ भन्ने भैसक्यो ।’
देशी विदेशी शक्तिले पुरानो गठबन्धन भत्काएको आरोप पनि उनले लगाए । उनले भने, ‘बालकोटको बार्दलीमा बसेर सहमति गरेको कुरा दुई महिनामै लत्याउने प्रचण्डको व्यवहार र शैलीको सिंगै मुलुक सिकार भएको छ । अस्ति कीर्तिपुरमा खेल हेर्न जाँदा जनताले कसरी आक्रोश पोखे ?’
नेकपा एमाले अब प्रमुख प्रतिपक्षी भूमिकामै रहने पनि उनले बताए । गिरीले थपे, ‘हामीसँग बहुमत थिएन । प्रतिपक्षमै बस्ने जनमत थियो । त्यसैले सरकार छाड्नुपर्दा कुनै दुःख मनाउ छैन । तर अहिले देश भ्रष्टाचार, बेरोजगारी र कुशासनका कारण युवाको अवस्था बेहाल छ । मालचरीजस्तो पखेटा हुन्थ्यो भने सबै विदेशमा जान्थे । खाली हुन्थ्यो नेपाल । बेइमानी र धुर्तताको राजनीति अब टिक्दैन । देश र जनतालाई केन्द्रविन्दुमा राख्नुपर्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमालेले विश्वासको मत नदिने उनले स्पष्ट पारे । गिरीले भने, ‘हामी यो सरकारलाई कुनै पनि दृष्टिकोणले विश्वासको मत दिन सक्दैनौं । समर्थन गर्न सक्दैनौं । हामी प्रमुख प्रतिपक्षमै बस्छौं । हामी दुइटा डुंगामा खुट्टा राख्दैनौं । द्वैध चरित्र देखाउँदैनौं । देश र जनतालाई घात गरे सशक्त प्रतिवाद गर्छौं । गठबन्धनमा कुनै सुँड पसाल्दैनौं । बेला भएपछि आँप आफैं कुहिएर खस्छ ।’



प्रतिक्रिया दिनुहोस्