Logo

उपेन्द्रका लागि सहज छैन संसद् प्रवेश



काठमाडौं, चैत ४ । जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई संसद्मा प्रवेश गर्ने ढोका खुलेको छ । जसपा संसदीय दलका नेतासमेत रहेका बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएसँगै सो क्षेत्रमा उनले उपनिर्वाचन लड्ने आन्तरिक रणनीति बनाएका हुन् ।

जसपा अध्यक्ष यादवका विश्वास पात्रका रूपमा रहेका पूर्वमन्त्री यादव जसपाको महासचिवको समेत जिम्मेवारी निर्वाह गरिसकेका थिए । कलैयास्थित पन्नादेवी उच्च माविमा शिक्षण पेसामा संलग्न रहेका यादव २०६४ मा सांसदमा निर्वाचित भएपछि सरकारी शिक्षकबाट राजीनामा गरेर पूर्णकालीन राजनीतिमा सक्रिय भएका थिए । तत्कालीन मधेसी जनअधिकार फोमरमा लागेका यादव मधेस आन्दोलनमा सक्रिय मात्रै थिएनन् । प्रत्येक मधेस आन्दोलनमा बारा, पर्सा, रौतहटलगायतका जिल्लामा ‘कमान्डर’का रूपमा भूमिका निर्वाह गर्दै आएका थिए ।

जसपाले संसदीय दलका नेता यादवलाई उपराष्ट्रपति बनाएर पार्टी अध्यक्ष उपेन्द्रलाई बारा २ मा हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने रणनीति यसअघि नै बनाएको हो ।

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पराजित भएपछि उपेन्द्र सुरक्षित क्षेत्र खोज्दै उपनिर्वाचनबाट संसद्मा पुन प्रवेशको मौकामा छन् । तर, उपेन्द्र उपनिर्वाचनबाट विजयी हुने सहज भने छैन । गत निर्वाचनमा रामसहायसँग पराजित प्रत्यासीबीच एक जना मात्र उम्मेदवार हुने र उपेन्द्रलाई सप्तरीजस्तै पराजित गर्ने आन्तरिक रणनीति बनिसकेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्