Logo

विशेष अदालतको फैसला पूर्वाग्रही भएको भन्दै पूर्वमन्त्रीद्वारा आत्महत्याको चेतावनी (भिडियोसहित)



काठमाडौं, ४ चैत्र । पूर्वमन्त्री बद्री न्यौपानेले आफूमाथि घोर अन्याय भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि पूर्वाग्रह राखेर विशेष अदालतमा मुद्दा दयार गरेको उनको आरोप छ । पदमा रहँदा नियम कानुनको परिधिभित्रै रहेर काम गरेपनि राजनीतिक पूर्वाग्रहको आधारमा विभिन्न शक्तिले आफूलाई सिध्याउन लागिपरेको उनले बताए ।

हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले  कानुनको परिधिमा रहेर काम गर्दा पनि आफूमाथि मुद्दा लगाएर घोर अन्याय भएको बताएका हुन् । विशेष अदालतले गरेको फैसलामा बुझाउने धरौटी केही नभएको उनले बताए । भ्रष्टाचार गरेर कमाएको सम्पत्ति देखाउन पनि उनले सरकारलाई चुनौति दिए । विशेष अदालतको आदेशविरुद्ध न्याय परिषद् र नेपाल बारमा निवेदन दर्ता गराएको उल्लेख गर्दै उनले यदि उक्त निवेदन छानविनका लागि अगाडि नबढाइए आत्महत्या भन्दा अर्को विकल्प नभएको बताए । उक्त मुद्दाको फैसला गर्ने न्यायाधीशहरुको सम्पत्ति छानविनका लागिसमेत उनले सरकारलाई आग्रह गरेका छन् ।

‘नेपाली जनतासँग मेरो एउटै आग्रह छ । मसँग दुनियामा केही चिज छैन । मैले राष्ट्रका लागि लडे । भ्रष्टाचार गरेर कमाएको पैसा देखाउन पर्यो नि त रान्यले ? संयन्त्र होला नि ? सम्पत्ति सुद्धीकरण होला । ती न्यायमूर्तिहरुको पनि सम्पत्ति खोजिनु पर्यो । उहाँहरुले फैसला गरेर यति विगो यति कैद भन्ने मान्छेको पनि सम्पत्ति छानविन हुनुपर्यो र सम्मानित प्रधानमन्त्रीलाई म यहीबाट आग्रह गर्न चाहन्छु, यदि यो विषयमा न्याय परिषददेखि बारमा हालेको निवेदन अगाडि बढाइएन भने अन्तिममा सर्वोच्च अदालतमा आत्महत्या गर्न बाध्य नहोस् । म माथि घोर अन्याय भएको छ,’– उनले भने ।

अख्तियारका तत्कालीन प्रमुख आयुक्त नविन घिमिरेले पूर्वाग्रह राखेर विशेष अदातलमा मुद्दा दायर गरेको उनको आरोप लगाए । ‘हिजो तराई आन्दोलन बलिरहेको बेलामा नेपालको स्वाधीनताका लागि लड्ने लडाकूलाई सिध्याउन हचुवाको भरमा नविन घिमिरेले पूर्वाहसहित मुद्दा लगाए । थुनछेक वहस हुँदा साधरण तारेखमा छाडियो । यस्तो मुद्दा विशेष अदालतमा ल्याउनै पर्दैनथ्यो भनेर त्यतिखेरका न्यायमूर्तिहरुले भनेका थिए,’– उनले भने ।

आफ्नो राजनीति सकाउनका लागि विभिन्न शक्तिहरुले चलखेल गरिरहेको उनले बताए । विना तथ्य र प्रमाणका आधारमा मुद्दा लगाइएको जिकिर गरे । देशको स्वाधीनता र राष्ट्रियताको लागि लडेको मान्छेको राजनीति ड्यामेज गराउनका लागि केही शक्तिहरुले चलखेल गरिरहेको उनको आरोप छ । आफूले समाजकल्याण परिषद ऐनमा व्यवस्था भएको दाफामा टेकेर नै आफूले जग्गा लिजमा दिने निर्णय गरेको उनले बताए ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हचुवाको भरमा, व्यक्तिगत रिसिइवी र राजनीतिक पूर्वाग्रहसहित जे पायो त्यही दायर गर्यो । सम्मानीत अदालतलाई स्विकारिन्छ । तर, पूर्वाग्रहसहित विना तथ्य, विना कारण, विना कानुन जे पायो त्यही गर्न पाइन्छ ? बद्री न्यौपाने हिजो यो देशको स्वतन्त्रता, राष्ट्रियता र स्वाधीनताका लागि लडेको व्यक्ति जसले यो देशलाई टुक्रयाउ खोज्दाखेरी, विखण्डन गर्ने खोज्दाखेरी यो देशको स्वाधीनता र राष्ट्रियताको लागि लडेको मान्छेको राजनीति ड्यामेज गराउनका लागि पूर्वाग्रह भयो,’– उनले भने ।

भ्रष्टाचार आरोपमा उनलाई विशेष अदालतले केही दिनअघि नौ वर्ष छ महिना कैदसहित दुई करोड ४३ लाख ६८ हजार भन्दाबढी जरिवान तोकेको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्