Logo

विश्वासको मतमा प्रचण्डलाई सकस, इमानदार बन्लान् त देउवा ?



काठमाडौं, ४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । गत पुष १० गते नेकपा (एमाले) को समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका हुन् । प्रचण्डले यही चैत्र छ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वा नदिने बारेमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक चैत्र ५ गते आइतबार संघीय संसद् भवनको शंकर हलमा बस्ने छ । बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने बारेमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेसको मत नपाएको खण्डमा उनी पदमुक्त हुनेछन् । प्रचण्डले विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) अनुसार संसदमा सबैभन्दा धेरै सदस्य रहेको दलको संसदीय दलको नेताका हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।

देउवा निकट स्रोतका अनुसार कांग्रेसले अहिले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने मानसिकता बनाएको छ । प्रचण्डलाई विश्वासको मत नदिएर राजनीतिक अस्थिरता नित्याउन हुँदैन भन्ने पक्षमा कांग्रेस रहेको देउवा निकट स्रोत बताउँछ । एमालेसँगको सत्ता समीकरण परिवर्तनकै बेलामा पहिलो चरणमा प्रचण्ड, दोस्रो चरणमा एक वर्ष नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र तेस्रो चरणमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी बनेको बताइएको छ । यस आधारमा पनि कांग्रेसले अहिले इमानदारितापूर्वक प्रधानमन्त्रीलाई विश्वासको मत दिनेछ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्