Logo

पत्रकारमाथिको आरोप पुष्टी गर्न घिमिरेलाई महासंघको चुनौति



काठमाडौं, ४ चैत्र । संघीय संसद्का सभामुख देवराज घिमिरेले पत्रकारमाथि दिएको अभिव्यक्तिलाई दिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । हिजो (शुक्रबार) सभामुख घिमिरेले ‘पत्रकारहरु विक्रिमा छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । घिमिरेको उक्त अभिव्यक्तिका विरुद्ध पत्रकार महासंघले आपत्ति जनाएको हो ।

‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ,’– महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै,सभामुखबाट समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति आउँनुले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासंघ गम्भीर चासो र चिन्ता प्रकट भएको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले आरोप पुष्टि गर्नसमेत सभामुख घिमिरेलाई चुनौति दिएको छ । आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानूनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढ्नेसमेत विज्ञप्तिमा उल्लेख छ ।

‘आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्धता जनाउन सभामुख समक्ष महासंघ आग्रह गर्दछ,’– विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्