Logo

सुल्झियो त्रिविमा नेविसंघको विवाद, श्यामराज ओझालाई समर्थन



काठमाडौं, ४ चैत्र । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भोलि (चैत्र) ५ गते हुँदैछ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु निर्वाचनलाई लिएर नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा रहेको विवाद समाप्त भएको छ । नेविसंघको साझा उम्मेदवारका रुपमा श्यामराज ओझालाई समर्थन गरिएको छ ।

ओझा लामो समयदेखि पदमा नरहँदा पनि विद्यार्थीको हक, हित र त्रिविको शैक्षिक सुधारका पक्षमा क्रियाशील थिए । उनले विद्यार्थीका साना–साना मुद्दालाई पनि गम्भीर भएर समाधानका लागि निरन्तर पहल गरिरहेका थिए । त्रिविको शैक्षिक सुधारका पक्षमा महत्वपूर्ण एजेण्डाका साथ प्रस्तुत भएका ओझाको जित सुनिश्चित रहेको उनी निकट विद्यार्थीहरु बताउँछन् । ओझा विद्यार्थीहरुका माझ निकै लोकप्रिय मानिन्छन् ।

वागी उम्मेदवारी दर्ता गराएका नेविसंघका नेता विष्णु बडैलाले भने– ‘हामीबीच कसले नेतृत्व गर्ने भन्ने विषयमा आपसी मतभेद थियो । तथापि विद्यार्थी हक हित र विद्यार्थी आन्दोलनलाई गति दिन नेविसंघ एक हुनपर्ने हुँदा मैले श्यामराज ओझालाई समर्थन गरेको छु । उहाँको जित निश्चित छ । हामी उहाँलाई विजयी गराउन अहोरात्र लागिपरेका छौं । उहाँको जित उहाँको मात्रै नभएर सिंगो संगठन र हामी सबै विद्यार्थीको हो,’– उनले भने ।

सम्पूर्ण त्रिवि नेविसंघ एक भएकोमा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले खुसी व्यक्त गर्दै सम्पूर्ण विद्यार्थीहरुको उचित जिम्मेवारी र व्यवस्थापन गरिने बताए । साथै आफूहरुबीच कुनै मतभेद भएमा निर्वाचन पछि छलफल र संवादका लागि तयार रहेको पनि उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्