Logo

स्ववियु निर्वाचन : कतै तयारी कतै अन्योल



चितवन, ४ चैत्र । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको जिल्लामा कतै तयारी अघि बढेको छ भने कतै अन्योल बनेको छ। विद्यार्थी सङ्गठनबीचको विवादले कतिपय क्याम्पसमा निर्वाचन स्थगित भएको छ।

विवादपछि कतिपय क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन्। विद्यार्थी सङ्गठनले लगाएको ताला खुलाउने विषयमा सङ्गठन र क्याम्पस प्रशासनबीच सहमतिको प्रयास भए पनि सफल हुन नसकेपछि अधिकांश कलेजमा स्ववियु निर्वाचनको प्रक्रिया सुरु भएपछि रोकिएको छ।

जिल्लामा तीन आङ्गिक कलेज र १७ सामुदायिक कलेजमा स्ववियु निर्वाचन हुनुपर्ने हो। तर, आइतबार हुनुपर्ने निर्वाचन अनिश्चित बनेपछि विद्यार्थी सङ्गठन स्थानीय प्रशासन र कलेज प्रशासनलाई दबाब दिइरहेका छन्। अहिलेसम्म जिल्लाका १५ भन् बढी क्याम्पसको ताला खुल्न नसकेको विद्यार्थी सङ्गठनले जनाएका छन्। ती क्याम्पसमा निर्वाचन अनिश्चित छ। माडी क्याम्पस माडी, उमावढी शेरचन कलेज दिव्यनगर, प्रेमबस्ती कलेज प्रेमबस्ती, सहिद स्मृति कलेज टाँडी, सहिद स्मार कलेज शारदानगर, अरुणोदय कलेज गीतानगरमा निर्वाचनको तयारी छ।

नेपाल विद्यार्थी सङ्घ चितवनका अध्यक्ष राजेश भुसालले स्ववियु निर्वाचन अनिश्चित बन्नु सामान्य कुरा नरहेको बताए। क्याम्पस प्रशासन र निर्वाचन समितिको कमजोरीका कारण निर्वाचन प्रक्रियाअन्तर्गत दल दर्ता भएपछि निर्वाचन रोक्नु भनेको त्रुटि भएको उनले बताए। सङ्घ निर्वाचनको पक्षमा रहेको भन्दै उनले क्याम्पस निर्वाचन गर्न तयार नभएको बताए। नेविसङ्घका कारण कतै अवरोध नभएको उनको दाबी छ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन चितवनका अध्यक्ष प्रकाश कालाखेतीले स्ववियु निर्वाचन तत्काल हुनुपर्ने माग गरे। निर्वाचनको मुखमा आएर छाएको अन्यौलताले आफूहरुलाई सशङ्कित बनाएको उनको भनाइ थियो । निर्वाचन अधिकृत र क्याम्पस प्रशासन निर्वाचनबाट भाग्न खोजेको उनको आरोप छ । भुवानी शङ्कर कलेज खैरहनीमा निर्वाचनको प्रक्रिया नै सुरु हुन नसकेको र अन्य कलेजहरुमा प्रक्रिया सुरु भएर स्थगित भएको उनले जानकारी दिए।

अनेरास्ववियु क्रान्तिकारीका जिल्ला इन्चार्ज अविनाश रम्तेलले धेरै जसो कलेजमा निर्वाचन नहुने देखिएको बताए। विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबीच सहमति जुट्न नसक्दा निर्वाचनको माहोल बन्न नसकेको उनले बताए। आङ्गिक क्याम्पसमा निर्वाचन हुन नसक्ने स्थिति रहेको उनको भनाइ छ। रासस



प्रतिक्रिया दिनुहोस्