Logo

एमाले सचिवको आरोप– ‘अहिलेको गठबन्धन विदेशीको प्लानिङमा बनेको हो’



काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) का सचिव रघुवीर महासेठले अहिलेको सरकार विदेशी शक्तिहरुको प्लानिङमा बनेको आरोप लगाएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले शक्तिहरुको चलखेलमा आठ दलीय गठबन्धन बनाएको आरोप लगाएका हुन् ।

‘पहिला विश्वासको मत दिँदा एमालेको समर्थनमा उहाँ प्रधानमन्त्री बन्नु भएको हो । त्यो बेला उहाँको चरित्र हामीलाई थाहा हुँदाहुँदै कम्तिमा देशभक्तको रुपमा उहाँलाई हामीले हेरेका थियौं । तर, आफू प्रधानमन्त्री भएको गठबन्धनलाई तोडेर उहाँहरुले विदेशी प्रतिनिधिलाई राखेर गठबन्धन बनाउनु भयो । आठ दलको गठबन्धन विदेशीहरुको दवाबमा बनेको गठबन्धन हो । जनतालाई सबै थाहा छ । आज नेपालको राजनीतिमा कसरी चलखेल भइराखेको छ ? कसरी हाम्रो राष्ट्रियतामाथि प्रश्नचिन्ह उठिरहेको छ ? त्यो हामीले भनिरहनुपर्छ र ? विदेशीको हात मात्रै होइन, विदेशीको प्लानिङमा र साक्षीमा यो गठबन्धन बनेको हो,’– उनले भने ।

साथै, एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने उनले बताए । आफुहरु बैकल्पिक सरकार दिने गरी प्रतिपक्षमा बस्ने उनले बताए । ‘हामीले विश्वासको मत किन दिनुपर्यो र ? हामी वैकल्पिक सरकार दिने एउटा शक्ति छौं । हामी वैकल्पिक सरकार दिनेगरी प्रतिपक्षमा बस्छौं,’– उनले भने ।

अहिलेको गठबन्धनको आयु धेरै लामो नरहेको उनले बताए । यो गठबन्धन नेपाल र नेपालीको हितमा नबनेको उनको आरोप छ । यो गठबन्धनले राष्ट्रघाति काम गर्दैन भनेर विश्वास गर्न नसकिने उनले बताए । ‘यो गठबन्धन नेपाल र नेपालीको हितमा बनेको हुँदै होइन । अहिले विश्वासको मत लिन बाँकी छ । विश्वासको मत लिइसकेपछि यो गठबन्धनले राष्ट्रघाति काम गर्दैन भन्न गाह्रो छ । किनकी हामीले सुगौली सन्धिदेखि लिएर अहिलेसम्मका इतिहासहरु हेरेका छौं,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको तीन महिनाभित्र यसको नतीजा आइसक्ने उनले बताए । प्रचण्डले जनयुद्धका उद्देश्यसमेत पुरा गर्न नसकेको उनको आरोप छ ।

 



प्रतिक्रिया दिनुहोस्