Logo

प्रधानमन्त्री प्रचण्डले पाउलान् त विश्वासको मत ? (यस्तो छ संसद्को अंकगणित)



काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट आज विश्वासको मत लिँदैछन् । गत पुष १० गते एमालेको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँग अल्पमतमा परेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजे प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् ।

गत पुष २६ मा विश्वासको मत लिँदा ९९ प्रतिशत भन्दा बढी मत पाएका प्रचण्डले आज लिने विश्वासको मतलाई बढी रोचक तरिकाले हेरिएको छ । प्रधानमन्त्री प्रचण्डलाई आज नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टीलगायत ११ दल र स्वतन्त्र सांसदको समर्थन रहेको छ । यस आधारमा कुनै नाटकीय परिवर्तन नभएमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने निश्चित छ ।

प्रतिनिधि सभामा माओवादीका ३२, कांग्रेसका ८८, राष्ट्रिय स्वतन्त्र पार्टीका १९, नेकपा (एस) का १०, जनमत पार्टीको ६, लोसपाको ४, नागरिक उन्मुक्तिको ४ र जनमोर्चाको १ सांसद प्रचण्डको विश्वासको मतको पक्षमा उभिएका छन् । साथै स्वतन्त्र सांसद प्रभु साहलेसमेत प्रचण्डलाई समर्थन गर्ने बताइएको छ । प्रचण्डलाई विश्वासको मतका लागि १ सय ३८ सांसद्को समर्थन आवश्यक छ । अहिले प्रचण्डको पक्षमा १ सय ६५ सांसद देखिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्