Logo

राष्ट्रिय जनमोर्चा सरकारमा जाँदैन, लुगा फेरेर बसेकाहरू नै गए भैहाल्यो नि : चित्रबहादुर केसी



काठमाडौं, ६ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् ।
‘अघिल्लो पटक पुस २६ मा हामीले प्रचण्डलाई विश्वासको मत दिएनौं । प्रचण्ड बालकोट जानै हुँदैनथ्यो भन्ने हाम्रो भनाइ थियो । त्यतिबेला उहाँलाई मत दिने सबै थिए । हाम्रो मतको खाँचो पनि थिएन । अब पुरानो गठबन्धन कायम भएको छ । बालकोटबाट फर्केपछि दिनैपर्‍य नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै केसीले भने ।
नेता केसीले सरकारलाई समर्थन गरे पनि मन्त्रिपरिषद्मा भने पार्टी सामेल नहुने स्पष्ट पारे । उनले भने, ‘राष्ट्रिय जनमोर्चा सरकारमा जाँदैन । हामी सरकारमा जानुको कुनै औचित्य छैन । गठबन्धनमा बसेका जति सबै हाम फालेर जानुपर्छ, सरकारमा झुम्मिनुपर्छ झुँडिनुपर्छ भन्ने त छैन नि । अरु धेरै लुगा फेरेर बसेकै छन् नि ।’
राजनीतिलाई व्यापार व्यवसाय ठान्नेहरुका कारण संसदीय व्यवस्था नै बदनाम भएको केसीको तर्क छ । उनले थपे, ‘सरकारमा जानै हुन्न भन्ने हाम्रो सैद्धान्तिक मान्यता होइन । तर जनमोर्चा गाईजात्रा देखाउन सरकारमा जाँदैन । २८, ३० वर्षदेखि राजनीतिलाई व्यापार व्यवसाय मान्नेहरु सरकारमा गएकै छन् । आफ्नो दुनो सोझ्याएकै छन् । उनीहरुले के गरे त खोइ ? सरकारमा गएर कमाउनै पर्छ, चुनावको खर्च उठाउनुपर्छ, अर्को चुनावमा खर्च गर्नुपर्छ भन्ने मान्यता हामी राख्दैनौं ।’
द्वन्द्वसँग सरोकार नभएकालाई निर्दोष मानिसको अपहरण, हत्या र बलात्कार भएकाले माफी दिन नहुने पनि केसीले औंल्याए । उनले भने, ‘पीडितलाई इन्साफ दिनुपर्छ । यो कुरा हामीले आज भनेका होइनौं । हिजोदेखि नै भन्दै आएका हौं । शान्तिप्रक्रियाका नाममा हत्या, अपहरण र बलात्कारमा संलग्न अपराधीलाई कसरी माफी दिने ?’



प्रतिक्रिया दिनुहोस्