Logo

राप्रपा प्रचण्डको सरकारमा जानु गल्ती थियोः महामन्त्री राणा



काठमाडौं, ६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवलशमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने स्पष्ट पारेका छन् ।
‘राप्रपा देश र जनतालाई केही सहयोग गर्न सकिन्छ कि भनेर सरकारमा गएको थियो । प्रधानमन्त्रीले स्थायी रुपमा सरकार चलाएको भए सहयोग पनि गथ्र्यौं । तर उहाँको फितलो र ढुलमुले प्रवृत्तिले अस्थिरता ल्याउने देखियो । प्रचण्डले एक महिनामै समीकरण बदलेपछि जनता निराश भएको स्थितिमा हामी फोहोरी राजनीतिक खेलबाट बाहिर आयौं । अब हामी सरकारलाई विश्वासको मत दिन सक्दैनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
राप्रपा महामन्त्री राणाले आफ्नो पार्टी एमालेका कारण सरकारबाट नहटेको पनि बताए । उनले भने, ‘हामीले एमालेभन्दा पछि विश्वासको मत फिर्ता लिएका होइनौं । हामी एमालेले भन्दा पहिले नै सरकारबाट हटेका हौं । प्रधानमन्त्रीसँग त्यो भन्दा पहिले नै असहमति जनाएका थियौं ।’
पार्टी एकढिक्का रहेको दाबी गर्दै राणाले प्रचण्ड नेतृत्वको सरकारमा जानु गल्ती महसुस भएको पनि स्विकारे । उनले भने, ‘हाम्रो पार्टीभित्र कुनै प्रकारको द्वन्द्व र विवाद छैन । अहिले हामीले एकताबद्ध भएर विश्वासको मत नदिने निर्णय गरेका हौं । हिजो सरकारमा जाँदा पनि एकमतले निर्णय गरेका हौं, छाड्दा पनि एकमतले निर्णय गरेका हौं । विवाद भयो भन्ने काल्पनिक कुरा हो । हिजो सरकारमा जानु भने गलत प्रवृत्तिलाई सहयोग गरेको ठहर भयो ।’
अहिले सरकारले संसदमा दर्ता गरेको सत्य निरुपण तथा बेपत्ता सम्बन्धी विधेयकमा रहेको मानवअधिकारको जघन्य अपराधमा पनि माफी मिनाहा गर्ने प्रावधानले पीडितमाथि अन्याय हुने राणाले औंल्याए ।

 



प्रतिक्रिया दिनुहोस्