Logo

प्रधानमन्त्री प्रचण्डलाई एमालेले पनि विश्वासको मत दिनु उचित हुन्छ– उपेन्द्र यादव



काठमाडौं, ५ चैत्र । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एमालेले पनि विश्वासको मत दिँदा राम्रो हुने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको परिस्थितिमा प्रधानमन्त्री प्रचण्डलाई एमाले पनि विश्वासको मत दिएमा राम्रो सन्देश जाने बताएका हुन् ।

‘एमालेले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु उचित हुन्छ । उहाँले दिनुहुन्न होला तर दिँदान बेश हुन्छ । जस्तै, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) गठबन्धन बाहिर थिए । प्रचण्डजीलाई उहाँहरु सबैले विश्वासको मत दिनुभयो । परिस्थिति राम्रै बनेको थियो । यसैगरी एमाले पनि विश्वासको मत दिने हो भने त्यसले राम्रो सन्देश जान्छ,’– उनले भने ।

साथै, आर्थिक सुदृढीकरण र राष्ट्रिय समस्या समाधानका लागि राष्ट्रिय पार्टीहरु एक ठाउँमा आउनु आवश्यक रहेको उनको भनाई छ । यसका लागि साझा चिन्तन र अभ्यास आवश्यक रहेको उनले बताए । ‘आर्थिक सुदृढीकरणका लागि, मुलुकको अर्थतन्त्र बचाउन, राजनीतिक स्थिरता र राष्ट्रिय समस्याको समाधान गर्न राष्ट्रिय पार्टीहरुबीचमा साझा चिन्तन र अभ्यासको जरुरी छ,’– उनले भने ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर एमाले पनि सरकारमा आएमा आफूहरु स्वागतका लागि तयार रहेको उनले बताए । सबै मिलेर सरकार बनाउने र देश विकासमा लाग्ने कुरालाई सकारात्मक रुपमा लिनुपर्ने उनले बताए । ‘केपी शर्मा ओली सरकारमा आउनु भयो भनेपनि हामी कारपेट विछ्याएर सहयोग गर्छौं । अरुले मान्लान् नमान्लान अलग कुरा हो । हामी सबै मिलेर सरकार बनाउने र देश बनाउने हो भने त्यो भन्दा राम्रो कुरा के हुनसक्छ ?’– उनले प्रश्न गरे ।

आजको अवस्थामा एमाले सरकारमा आउने सम्भावना नभएपनि भविष्यमा यो असम्भव नहुने उनले बताए । साथै, अहिलेको सरकारमा भएका मन्त्रालयमै समझदारी बन्ने यादवको दाबी छ । आफूहरुको चाहना सबैको सल्लाहमा सक्षम मन्त्री र उपयुक्त मन्त्रालयको व्यवस्था गर्नु पर्ने उनले बताए । सबै मन्त्रालयको आफैंमा महत्वपूर्ण रहेको उनले बताए । जसपाले सहमति र समझदारीको आधारमा मन्त्रालय लिने उनको दाबी छ ।

‘न्यायोचित र समझदारीका आधारमा अगाडि बढ्छौ । यतीवटा मन्त्रालय अहिले नभनौं । हामीले त्यसरी सोचेको पनि छैनौं । समझदारीलाई टेकेर हामी अगाडि बढ्छौं,’– उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्