Logo

रवि लामिछानेलाई भएभरको शक्ति लगाएर लखेट्न खोजियो– डोलप्रसाद अर्याल



काठमाडौं, ६ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले आफूहरुलाई भएभरको शक्ति लगाएर लखेट्न खोजिएको भन्दै दुःखेसो पोखेका छन् । आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद अर्यालले पार्टी सभापति लामिछाने नेपाली जनता र युवा पुस्ताको आशाको केन्द्रका रुपमा उदाए पनि भएभरको शक्ति लगाएर लखेट्ने काम भएको बताएका हुन् । साथै, रविले पत्रकारितमा हुँदा पनि र राजनीतिमा पनि भूईमान्छेको आवाजलाई उठाएको उनको दाबी छ ।

विदेशमा रहेका ४० लाख नेपालीजस्तै अवसरको खोजीमा रवि विदेश गएपनि नेपालमै केही गर्ने सोचका साथ फर्किएको उनको दाबी छ । ‘उनले (रविले) पत्रकारितालाई पनि नेपाली भूईमान्छेलाई जोड्ने र विकृति र विसंगतिलाई तोड्ने पत्रकारिता नै गरेका हुन्। आज राजनीतिमा पनि उनी एउटा आशाकै रुपमा उदाएका छन् । तर, यो युवा पुस्ताको, मुलुक बारिर रहेर मुलुकभित्रै अवसर खोज्ने युवा पुस्ताको प्रयासलाई भएभरको शक्ति लगाएर लखेट्न खोजियो,’– उनले भने ।

साथै, चितवन–२ बाट फेरि पनि सर्वाधिक मतका साथ रवि लामिछानेले जित्नेमा कुनै शंका नरहेको उनले बताए । ‘सार्वभौम जनताको सर्वाधिक मतान्तरबाट विजयी पार्टी सभापतिलाई पुन अघिल्लो पटक भन्दा अत्याधिक मतान्तरले विजयी गराएर फेरि पठाउने नै छ । यसमा हामी पूर्ण विश्वस्त छौं,’– उनले भने । नेपाली युवाहरुलाई सकेजती चाँडो देश छोड्न बाध्य अहिले संसद्मा उपस्थितहरुबाट नै पारिएको उनको दाबी छ । ‘मुलुकलाई सकेजति चाँडो छोड्न चाहनेहरुको लाइन लाग्ने अवस्था कसले बनायो ?’– उनले प्रश्न गरे ।

 



प्रतिक्रिया दिनुहोस्