Logo

लोकतन्त्र, गणतन्त्र र संघीयता रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं– सिके राउत



काठमाडौं, ६ चैत्र । जनमत पार्टीका अध्यक्ष एवं सांसद् चन्द्रकान्त राउतले दुई महिनामै प्रधानमन्त्रीले विश्वासको मत लिनपर्ने अवस्था आउनु राम्रो कुरा नभएको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै राउतले यस्ता परिस्थिति फेरि नआओस् भन्दै सबै दललाई आग्रहसमेत गरेका छन् । अहिलेको परिस्थिति निर्माण हुनुमा कुनै पार्टी र नेतृत्व विशेषमात्रै दोषी नभएको उनले बताए ।

‘यस्तो परिस्थिति आउनुमा म कुनै पार्टी विशेष वा नेतृत्व विशेषलाई मात्रै दोष दिन चाहन्न । यसमा सिद्धान्तको प्रमुख भूमिका रहेको कुरा हामीले नर्कान मिल्दैन । सिद्धान्तविहीन राजनीति र सिद्धान्तविहीन गठबन्धन धेरै दिनसम्म टिक्न सक्दैन । विशेष परिस्थितिमा सिद्धान्त नमिलेको दल एक ठाउँमा आउँदा यो परिस्थिति निर्माण भएको हो,’– उनले भने ।

आफूहरुले लोकतान्त्रिक रक्षाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले संघीयता र लोकतन्त्रको पुनर्स्थापना गराएको उनले दाबी गरे ।
‘लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्नका लागि हामीले पहिला पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन चाहन्छौं । आज पनि हाम्रो पार्टीले सम्माननीय प्रधानमन्त्रीलाई लोकतन्त्र, संघीयताको रक्षाको लागि आज पनि मत दिने निर्णय गरेका छौं । आफूले जन्माएको सन्तानको आमाबाबुलाई जुन प्रकारको माया हुन्छ, आज उहाँले लोकतन्त्र, गणतन्त्र र संघीयतालाई पुनर्स्थापना उहाँले गराउनु भएको छ,’– उनले भने ।

जनमत पार्टी देशको र शासनको स्थायित्वको पक्षमा रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले मल खादमा भएको मुल्य वृद्धिलाई सच्चाएकोमा उनले प्रचण्डको प्रशंसा गरे । मधेश आन्दोलनको मुद्दालाई विशेष प्राथमिकता दिन, राजबन्दीहरुलाई रिहाई गर्न पनि उनले सरकारसँग अपील गरे ।



प्रतिक्रिया दिनुहोस्