Logo

साफ यू–१७ महिला च्याम्पियनशिप : नेपाल भारतसँग पराजित



काठमाडौं, ६ चैत्र । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ। बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज भएको खेलमा भारतले नेपाललाई ४–१ गोलअन्तर पराजित गरेको हो।

भारतको जितमा शिल्जी शाजीले ह्याट्रिक पूरा गरिन् भने पूजाले एक गोल गरिन्। नेपालका लागि वर्षा ओलीले एक गोल फर्काइन्। खेलको दसौँ मिनेटमा भारतकी शिल्जी शाजीले गोल गर्दै सुरुआती अग्रता दिलाइन्। त्यस्तै खेलको ४०औँ मिनेटमा शाजीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन्।

खेलको पहिलो हाफको ४१औँ मिनेटमा पूजाले एक गोल थपिन्। त्यसपछि खेलको ५४औँ मिनेटमा नेपालकी खेलाडी वर्षा ओलीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याइन्। त्यस्तै खेलको ८०औँ मिनेटमा शाजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४–१ को जित दिलाइन्। जितसँगै भारतले पहिलो खेलमा ३ अङ्क जोडेको छ।

प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भूटान र रसियाको सहभागिता रहेको छ। नेपालले आफ्नो दोस्रो खेलमा बुधबार भूटानसँग खेल्नेछ।



प्रतिक्रिया दिनुहोस्