Logo

आठ महिनामा सवा पाँच लाख विदेशिए



काठमाडौं, चैत ७ । रोजगारीका लागि विदेशिनेको सङ्ख्या अहिलेसम्मकै उच्च रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा झन्डै सवा पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा वैदेशिक रोजगारीको सिलसिलामा ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो महिना (माघ)को तुलनामा केही कम हो ।

विभागका महानिर्देशक उमाकान्त आचार्यले मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या वृद्धि भएको बताए ।

पछिल्लो समय साउदी अरब नेपालीको चौथो गन्तव्य देश बनेको छ । मलेसियामा आप्रवासी श्रमिकको सेवासुविधा बढेसँगै साउदी अरब कम रोजाइमा पर्ने गरेको र गएका पनि फर्किने क्रम बढेको महानिर्देशक आचार्यले बताए । फागुनमा ५६ हजार ७१९ जना पुरुष र पाँच हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका छन् ।

विभागका अनुसार माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । यो नयाँ श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको सङ्ख्या हो ।

फागुनमा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत २९ हजार २८८ जना युवा विदेशिएका छन् । व्यक्तिगत रूपमा जाने नयाँ श्रमिकको सङ्ख्या पाँच हजार ५३६ जना छ । जीटुजीमार्फत दुई हजार १७० जना युवा विदेश गएका छन् । व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने २४ हजार ८५१ जना रहेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्