Logo

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात



ताप्लेजुङ, चैत ७ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सोमवार राति वर्षासँगै हिमपात भएको हो ।सोमवारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ ।

उनले भने, ‘अहिले म पाथीभरा मन्दिर क्षेत्रमा छु । सामान्य हिमपात हुने क्रम जारी छ । मन्दिर क्षेत्रमा २ फिटको हाराहारीमा हिउँ जमेको छ ।’

३ हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको तल्लो फेदी काफ्ले पाटीसम्मै हिउँ परेको उनले जानकारी दिए । सामान्य हिमपात भएकाले पूजापाठ गर्ने क्रम चलिरहेको छ । अहिले करीब १ हजार ५०० भक्तजनले पूजापाठ गरिरहेको समितिले जनाएको छ ।

उच्च हिमाली क्षेत्रमा निकै बाक्लो हिउँ परेको छ । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा ७ ओलाङ्चुङगोला, याङ्मा लगायत जिल्लाको हिमाली बस्तीमा १ फिट बढीसम्म हिउँ परेको स्थानीयले बताएका छन् ।

घुन्साका टाँसी छिरिङ शेर्पाका अनुसार करीब डेढ फिटसम्म हिउँ परेको छ । ओलाङ्चुङगोलामा पनि हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । ओलाङ्चुङगोलाकै याङ्मामा भने २ फिटसम्म हिउँ परेको जनाइएको छ । ४ हजार २०० मिटर उचाइ रहेको याङ् जिल्लाकै उच्च बस्ती हो ।

यसैगरी तेह्रथुम, संखुुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको कालीखोला, सिरिजंघा गाउँपालिकाको याम्फुदिन, मामांखे गाउँको उच्च भागमा पनि हिमपात भएको स्थानीयले बताएका छन् ।

ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष पहिलोपटक गत फागुन १५ गते हिमपात भएको थियो । गत वर्ष भने पुसको दोस्रो हप्तादेखि नै हिमपात हुन शुरू भएको थियो । यस वर्ष विगतका तुलनामा खासै हिमपात भएको छैन ।

यस वर्षको हिउँद मौसम बित्न लाग्दा हिमपात र वर्षा भएपछि किसान भने हर्षित भएका छन् । मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहतको महसूस गरेका हुन् । नगदे बाली अलैंची, तरकारी लगायतका बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्