Logo

चितवन २ को उपचुनावपछि सरकारमा जान सक्छौंः रास्वपा नेता



काठमाडौं, ७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जान सक्ने बताएका छन् ।
‘हामीले हिजो मात्र सरकारलाई विश्वासको मत दियौं । तर सरकारमा जाने विषयमा कुरा भइसकेको छैन । सरकारमा जाँदै नजाने भन्ने कुरा पनि होइन । प्रधानमन्त्रीलाई सरकारमा आइदिए हुन्थ्यो भन्ने लागेको होला । सरकारमा जाने भनेको जनताको दैन्दिनको समस्या समाधान गर्ने कुरा हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै परियारले भने ।
सरकारमा जाँदा कुन कुन मन्त्रालय लिने भन्ने कुरा नभएको पनि उनले स्पष्ट पारे । परियारले भने, ‘कुन कुन र कतिवटा मन्त्रालय लिने भन्ने कांग्रेस र माओवादीको कुरा होला । अहिले हामी त्यो चरणमा पुगिसकेका छैनौं । सरकारमा जाने भन्ने बहस भएपछि मात्र यो यो मन्त्रालय लिने भन्ने कुरा होला । यो मन्त्रालय, त्यो मन्त्रालयभन्दा पनि जनताको पक्षमा काम हुने वा नहुने कुरा महत्त्वपूर्ण छ । सबै मन्त्रालय शक्तिशाली छन् । जनताको पक्षमा काम गर्ने कुरा प्रमुख हो ।’
परियारले चितवन २ को उपनिर्वाचनपछि सरकारमा जाने स्थिति पनि आउन सक्ने नि औंल्याए । उनले भने,’ हाम्रो अहिलेको प्राथमिकता उपनिर्वाचन हो । अरु राजनीतिक कामहरु पनि छन् । चितवन २ मा हाम्रा सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित जितेर आउनुभएको थियो । त्यो खारेज भएपछि अब त्योभन्दा बढी मतान्तरमा जिताउनुपर्ने चुनौती छ ।’ राहदानी प्रकरणमा रवि लामिछानेलाई महान्यायाधिवक्ताको सफाइ कानुनी निर्णय भएको पनि उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्