Logo

११ वटै दललाई अहिलेको सरकारमा समेट्न नसके आलोपालो गर्छौंः माओवादी सचिव



काठमाडौं, ७ चैत । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले ११ दललाई विश्वासमा लिएर यसै साता मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
‘हिजो हामीले विश्वासको मत लियौं । अब साना-ठूला ११ दललाई विश्वासमा लिएर मन्त्रीमण्डल विस्तारको होमवर्क गर्छौं । हामी २५ वटाभन्दा बढीको मन्त्रीमण्डल बनाउन सक्दैनौं । यो टुंग्याउनै नसकिने कुरा होइन । यो हप्ताभित्र मन्त्रीमण्डल विस्तार हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै पौडेलले भने ।
११ दल नै सरकारमा जाने स्थितिमा आलोपालो मन्त्रीमण्डलमा समेटिने पनि उनले बताए । पौडेलले भने, ‘सरकारमा जाने भनेको बाँडचुँड गरेर खाने होइन, मुलुक र जनताको काम गर्ने हो । हामी सबैले एकअर्काको समस्या बुझेपछि हल हुन्छ । आलोपालो गरेर भए पनि सबैलाई समेट्छौं । कोही खुसी भएनन् भने पनि चित्त बुझाउने गरी काम हुन्छ ।’
नेता पौडेलले रास्वपा पनि सरकारमा आउने र एमाले र राप्रपालाई पनि विश्वासमा लिएर प्रधानमन्त्री अघि बढ्ने बताए । उनले भने, ‘प्रचण्डले सरकारलाई समर्थन गर्ने दलहरुको मात्र होइन एमाले र राप्रपाको पनि सहमति लिएर काम गर्नुहुन्छ । अब रास्वपा पनि सरकारमा आउँदा राम्रो हुन्छ । उहाँहरुमा केही गरौं भन्ने भावना छ ।’
नेकपा (माओवादी केन्द्र) ले गृह वा अर्थमध्ये एउटा मन्त्रालय लिने र माधव नेपालको पार्टीले पनि गम्भीरता बुझ्ने उनले बताए । पौडेलले भने, ‘प्रधानमन्त्रीले गृह वा अर्थमध्ये एउटा राख्दा राम्रो होला । पुरानो गठबन्धनको अभ्यास पनि त्यही हो । गठबन्धनमा माधव नेपालको भूमिका छ । उहाँ समझदार व्यक्ति भएकाले अहिलेको जटिलता बुझ्नुहुन्छ ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले गोटी बनाएर चलाउन खोजेकाले सहकार्य भत्किएको पनि पौडेलले औंल्याए । उनले भने, ‘एमालेसँगको गठबन्धन किन तोडियो भनेर प्रचण्डले जनतालाई बताइसक्नुभएको छ । उहाँ साझा मुद्दामा एमालेलाई पनि सँगै लिएर जान चाहनहुन्छ । प्रधानमन्त्रीले एमालेलाई सरकारबाट हट्नुस्, सहमति नगरौं भन्नुभएको होइन । सबै पद पाए बस्ने, नपाए नबस्ने भन्ने हुँदैन ।’ साथै उनले रवि लामिछानेको दोहोरो राहदानी प्रकरणमा प्रचलित कानुन अनुसार महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको पनि दाबी गरे ।

 



प्रतिक्रिया दिनुहोस्