Logo

बेलैमा विकल्प नसोचे चाँडै राजनीतिक सुनामी आउँछः डा. दीक्षित



काठमाडौं, ८ चैत । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले संसद तीनचार जना नेताको रबर स्ट्याम्प मात्र बनेको बताएका छन् ।
‘संसद् तीनचार जना टाउके नेताको रबर स्टाम्प मात्र भयो । संसद्मा कोरम नै पुग्दैन । यिनीहरु बहस गर्न आएका हुन् कि भत्ता पचाउन मात्र आएका हुन् ? सत्य निरुपण तथा मेलमिलाप विधेयकमा छलफल गर्नु पर्दैन ? संसदीय समितिमा राम्ररी छलफल नगरीकन यत्तिकै पास गरे पीडितहरुले स्वीकार गर्दैनन् । अन्तर्राष्ट्रिय समुदायले पनि मान्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. दीक्षितले भने ।
उनले शान्तिप्रक्रियामा दक्षिण अफ्रिकाको नेल्सन मन्डेला मोडल लिए पनि यहाँ जथाभावी भइरहेको आरोप लगाए । उनले थपे, ‘विश्वभर प्रचलित मानवअधिकारका सिद्धान्तलाई यहाँ कुल्चन खोजिँदै छ । लिने बेला नेल्सन मन्डेलाको मोडल लिने अनि आफ्नै पारामा जथाभावी गर्न खोज्ने ? मन्डेलले ५ वर्षमा गरेको काम यहाँ १६ वर्षसम्म हुन सकेन । यो खतरनाक प्रवृत्ति हो ।’ नागरिकको गोपनीयताको हक कुण्ठित हुने गरी सरकारले नागरिकको फोन रेकर्ड गर्नु गलत भएको पनि उनले औंल्याए ।
साथै उनले सरकारलाई अप्ठ्यारो जनताले नपारेको नभई प्रधानमन्त्री पुष्पकमलल दाहाल प्रचण्डले नै पारेको आरोप पनि लगाए । उनले भने, ‘एक महिनामा ६५ हजार मानिस काम गर्न देशबाहिर गए । यहाँ सिस्टम छैन । रोजगारी छैन । प्रचण्ड १८ वर्षदेखि प्रधानमन्त्री वा प्रधानमन्त्री मेकर भए । प्रधानमन्त्रीलाई गाह्रो आफैंले पारेको हो । जनताले पारेको होइन ।’
लोकतन्त्रभित्रै विकल्प नसोचे बाहिरबाट राजनीतिक सुनामी आउने पनि डा. दीक्षितले दाबी गरे । उनले भने, ‘७२ वर्षमा बीपी र मातृका कोइरालाले जे कुरा गर्थे, अहिले पनि नेताहरु त्यही कुरा गर्छन् । बेलैमा लोकतन्त्रभित्रै विकल्प खोज्ने हो भने राष्ट्रपतीय प्रणाली वा प्रत्यक्ष चुनिएको प्रधानमन्त्री चाहिन्छ । नत्र बाहिरबाट राजनीतिक सुनामी आउँछ ।’



प्रतिक्रिया दिनुहोस्