Logo

मन्त्रिपरिषद् विस्तारमा प्रचण्डलाई सकस– महत्वपूर्ण मन्त्रालयमा कांग्रेसको दाबी



काठमाडौं, ८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही साताभित्र मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । गत पुष १० मा नेकपा (एमाले) को समर्थनबाट प्रधानमन्त्री बनेका प्रचण्ड एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै उनी अल्पमतमा परेका थिए । उनले गत चैत्र छ गते पुनः विस्वासको मत लिइसकेका छन् । प्रचण्डलाई १० दल र केही स्वतन्त्र सांसदहरुले विश्वासको मत दिएका थिए ।

यो सँगै प्रधानमन्त्री प्रचण्ड १० दलीय सत्ता गठबन्धनको सहमतिमै मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । अहिले १६ वटा मन्त्रालयको बोझ स्वयम् प्रधानमन्त्रीमा रहेको छ । यतिधेरै मन्त्रालय प्रधानमन्त्रीमा रहँदा दैनिक काम कारबाही नै प्रभावित हुने गरेको भनेर उनको आलोचनासमेत हुन थालेको छ ।

प्रचण्ड निकट स्रोतका अनुसार उनी अहिले मन्त्रालय भागबण्डा मिलाउन छलफलमा जुटेका छन् । अबको दुई दिनभित्र मन्त्रिपरिषद विस्तार भइसक्ने उनी निकट स्रोतको भनाई छ । अहिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी गराउँदा कांग्रेसको भागमा ६ देखि ८ मन्त्रालय पर्ने भएपनि कांग्रेसले अहिले १० वटा मन्त्रालयको अडान नछाड्दा प्रचण्डलाई थप सकस परेको छ ।

गृह मन्त्रालयमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी रहेको छ । त्यसैगरी, अर्थ मन्त्रालयमा माओवादी र कांग्रेसको दाबी रहेको छ । यद्यपि प्रचण्ड यी दुई मन्त्रालय आफ्नै पार्टीमा राख्न चाहन्छन् । यी मन्त्रालयमा कुरा नमिल्दा प्रचण्डलाई मन्त्रिपरिषद विस्तारमा थप सकस भएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्