Logo

जगदम्बा जितपुर सिमरा गोल्डकपको १३औं संस्करणको तयारी अन्तिम चरणमा



काठमाडौं, ८ चैत्र । मोफसलकै प्रतिष्ठित रहेको फूटबल प्रतियोगिता जगदम्बा जितपुर सिमरा गोल्डकपको १३औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । चैत्र ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि यतिबेला रंगशालामा अन्तिम तयारी कार्य अन्तिम चरणमा रहेको छ ।

१३औं जगदम्बा जितपुर सिमरा गोल्डकपलाई लक्षित गरी आयोजक नव जनजागृति युवा क्लबले रंगशालामा मञ्च व्यवस्थापन, प्यारापीट रंगरोगनको काम गरिरहेको रंगशालामा मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले तयारी अन्तिम चरणमा पुगेको समेत जनाएको छ ।

आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको बताएका छन् । लामाका अनुसार प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमले सहभागिता जनाउने भएका छन् ।

गत वर्षको साविक विजेता न्युरोड कर्नर टिम (एनआरटी), उपविजेता नेपाल एपीएफ क्लब, चर्च ब्वाईज, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, मोफसलका वीरगन्ज युनाइडेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, केबीए ग्लोबल चितवन र आयोजकले प्रतियोगितामा सहभागिता जनाउनेछन् । चैत्र १८ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र चितवनबीच हुने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी र जगदम्बा स्टील्स् प्रालि मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् । विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, मिडफिल्ड, डिफेन्स, फरवार्ड, प्रशिक्षक, सर्वाधिक गोलकर्ताले जनही २० हजार प्राप्त गर्नेछन् भने उदयीमान खेलाडीले नगद १५ हजार पाउनेछन् ।

प्रतियोगिताको सम्पूर्ण खेल फ्लड लाईटमा हुनेछन् । पछिल्लो दुई वर्षदेखि सिमरा रंगशालामा रात्री समयमा खेल भईरहेको छ । गर्मी मौसम र दर्शकलाई लक्षित गर्दै आयोजकले फ्लड लाईटमा खेल संचालन गर्न थालेको हो ।

रात्रीको समयमा खेल हुँदा दर्शकको बाक्लो उपस्थिती हुँदै आएको छ । आयोजकले प्रतियोगिता संचालन गर्न अनुमानित एक करोड ६ लाख रुपैया खर्च हुने जनाएको छ । प्रतियोगितालाई जीतपुरसिमरा उपमहानगरपालिका, जगदम्बा स्टील्स्सहित स्थानीय कलकारखाना, उद्योगीव्यवसायी र स्थानीयले सहयोग गरेका छन् ।

जीतपुरसिमराको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्नका लागि प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने भन्दै स्थानीय समेत उत्साहित भएका छन् । मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा परिचय स्थापित गरेको जीतपुरसिमरा गोल्डकपको खेल हेर्न बारा जिल्लासहित वीरगन्ज, निजगढ, चन्द्रनिगाहपुर, हेटौडालगायतको शहरबाट दर्शक सिमरा आउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्