Logo

ज्ञानेन्द्र शाहीलाई दीपशिखाको प्रश्न– कुन मानव अधिकारको कुरा गरेको ? कि विरेन्द्रको बंशनाशको ?



काठमाडौं, ८ चैत्र । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं वाईसिएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानेन्द्र शाहीलाई जवाफ फर्काएका छन् । शाहीले गत चैत्र ५ गते प्रतिनिधि सभा बैठकमा बेपत्ता पारिएको व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विधेयकका बारेमा बोल्दै माओवादी जनयुद्धको आलोचना गरेका थिए । दीपशिखाले आज शाहीको अभिव्यक्ति विरुद्ध सामाजिक सञ्जालमा लेख्दै संसद्मा बोल्ने अधिकार राजाले दिएको नभएर आफूहरुले छातीमा गोली थापेर ल्याएको बताएका हुन् । उनले ज्ञानेन्द्र शाहीजस्ता गणतन्त्र ल्याउनमा कुनै योगदान नभएकाहरुलाई संसद्मा बोल्दा लाज हुनुपर्नेसमेत बताए ।

‘सदनमा प्रधानमन्त्रीका अघि तिमी अन्टसन्ट चिच्याईरहेका छौ नि यो तिमीले भगवान मानेका राजाले दिएको अधिकार होइन, छातिमा गोलि थापेर लडि ल्याएको अधिकार हो । जो तिमीले पनि उपभोग गरिरहेका छौं । तिम्रा राजाले त बोलेबापत गोली ठोक्थे,’– उनले भनेका छन् ।

साथै, उनले ज्ञानेन्द्र शाहीलाई कुन मानव अधिकारको कुरा गरेको भनेर प्रश्नसमेत गरेका छन् । उनले नमिता, सुमिता कि विरेन्द्रको वंशनाशको ? कि मैना सुनुवारको ? हुति छ नमिता, सुमिताको मानवाधिकारबारे बोल्ने ? भनी उनलाई प्रश्न गरेका छन् । ‘हामीले लडि ल्याएको गणतन्त्रमा सबै निर्धक्क बोल्न पाउँछन्, राजनीतिमा प्रतिष्पर्धा गर्न पाउँछन् ? यसका लागी रत्तिभर योगदान नभएका तिमीहरुले इमान छ भने लाज मानि–मानि बोल्नुपर्छ । कुन मानवाधिकारको कुरा गरेको ? नमिता, सुमिता कि विरेन्द्रको बंशनाशको ? कि मैना सुनुवारको ? हुति छ नमिता, सुमिताको मानवाधिकारबारे बोल्ने ?

साथै, उनले शाहीलाई विहान उठेर गणतन्त्रका लागि लड्नेहरुको सम्झना गर्नसमेत आग्रह गरेका छन् । अहिलेको व्यवस्था प्राप्तिका लागि गोली खाएका हजारौं योद्धाको सम्मानका गरेमामात्रै भावी सन्ततीहरुले गर्व गर्ने उनका भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्