Logo

‘वैदेशिक रोजगारीमा रहेका श्रमिकलक्षित सामाजिक सुरक्षा योजनाको सुरुवात’ (भिडियोसहित)



काठमाडौं, ८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेका छन् ।

बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा गएका नेपाली लक्षित समाजिक सूरक्षा योजनाको शुभारम्भ गरेका हुन् । यो योजनाबाट वैदेशिक रोजगारीमा गएका लाखौं नेपाली लाभान्वित हुने प्रधानमन्त्री प्रचण्डको विश्वास रहेको छ । यो योजनामा सहभागी हुन हरेक महिना श्रमिकले २ हजार २ रुपैयाँ बुझाउनुपर्छ।

कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री प्रचण्डले आफूले हरेक पटक प्रधानमन्त्री बन्दा वैदेशिक रोजगारीमा रहेका नेपालीको हक हितको पक्षमा काम गरेको दाबी गरे । उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपाली नागरिकको नागरिकताको विषयलाई एजेण्डा बनाएको उनले बताए । साथै दोस्रो पटक प्रधानमन्त्री बन्दा वैदेशिक रोजगारीमा रहेका नेपालीको विमा र अहिले सामाजिक सुरक्षा योजनाको सुरुवात गरेको उनले बताए ।

‘गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको नागरिकता विषयलाई मेरो एजेन्डा बनाए । र आज नयाँ संविधानमा त्यसले स्थान पाएको छ । त्यसमा मलाई खुशी र गर्व छ । दोस्रोपल्ट प्रधानमन्त्री हुँदा मैले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको विमाको समस्या हल गर्ने पहलकदमी लिए । तेस्रोपटक म प्रधानमन्त्री हुँदा मैले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ गर्ने अवसर प्राप्त गरेको छु,’– प्रधानमन्त्री प्रचण्डले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्