Logo

सेना र प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार



खोटाङ, ८ चैत । वन डिभिजन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार उपलब्ध गराएको छ । वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह कार्यक्रम समापनको अवसर पारेर डिभिजन वन कार्यालयले गोरखनाथ गण मुडे ब्यारेक र जिल्ला प्रहरी कार्यालयलाई डढेलो नियन्त्रणका क्रममा उपयोग हुने विभिन्न प्रकारका औजार उपलब्ध गराएको हो ।

रेक, स्वाटर, एक्स–हो, रेक–हो, ब्याग प्याक पम्प, साभेल, हेल्मेट, बुट र ड्रेसको अलग–अलग सेट प्रदान गरिएको डिभिजन वन प्रमुख जगदीश रेग्मीले जानकारी दिए । वन कार्यालयले उपलब्ध गराएको औजार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले सेना र प्रहरीलाई हस्तान्तरण गरेको थियो ।

जागरण सप्ताह समापन कार्यक्रमको अवसरमा जिल्ला अग्नि नियन्त्रण सञ्जालसमेत गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख एवम् प्रतिनिधि संयोजक रहेको ११ सदस्यीय अग्नि नियन्त्रण सञ्जाल गठन गरिएको हो ।

डिभिजन वन कार्यालय सदस्य सचिव रहेको सञ्जालको सदस्यमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल रेडक्रस सोसाइटी, नगरपालिका, निजी तथा पारिवारिक वन सञ्जाल, नेपाल विद्युत् प्राधिकरण कार्यालय लगायतलाई चयन गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयको निर्देशनअनुसार जिल्लामा विभिन्न कार्यक्रम गर्दै चैत १ गतेदेखि सुरु गरिएको वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह समापन गरिएको छ । दश स्थानीय तह रहेको खोटाङ डढेलोको उच्च जोखिममा रहेको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्