Logo

अनधिकृत संरचनामा डोजर



काठमाडौँ, ८ चैत । पाटन बजारमा रहेका अनधिकृत संरचना पाटन नगरपालिकाले डोजर प्रयोग गरेर हटाउन थालेको छ । पाटन नमूना सहर क्षेत्रमा नयाँ सडक निर्माण गर्न अनाधिकृत संरचना हटाउन सुरु गरिएको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए ।

नगरपालिकाले बजारबाट नयाँ बसपार्क जोड्ने सडक र विमानस्थल जोड्ने शाखा सडक निर्माण गर्न उक्त क्षेत्रमा बनेका संरचना हटाउन थालेको हो । उक्त क्षेत्र जोड्ने सडकको क्षेत्राधिकारभित्र पर्ने नगर विकास समितिको जमिनमा बनेका अस्थायी संरचना हटाउन थालिएको नगरप्रमुख रावलले बताए । सडक क्षेत्राधिकारभित्र पर्ने डेढ दर्जनभन्दा बढी संरचना हटाउन थालिएको छ । उनले भने, “अनधिकृत रुपमा बनेका संरचना हटाउन नगरपालिकाले गत पुसमै ३५ दिने सूचना जारी गरेको हो, उक्त सूचनाको अवज्ञा गरेपछि हामीले डोजर प्रयोग गरेर हटाउन थालेका हौँ, अब नयाँ सहरको कामले पनि गति लिने विश्वास गरेका छौँ ।”

सडक पाँच मिटरसम्मको चौडा निर्माण गरिन लागिएकाले अनधिकृत रुपमा बनेका संरचना हटाउने कार्य थालिएको हो । पाटन नयाँ सहर आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर रोहितराज भण्डारीका अनुसार सडक चौडा गर्न रु पाँच करोडको ठेक्का भइसकेको छ ।

सरकारले आर्थिक वर्ष २०६७÷६८ मा मध्यपहाडी लोकमार्गअन्तर्गत १० सहरलाई नमूना सहरका रूपमा विकसित गर्ने निर्णय गरेको हो । तिनै १० नमूना सहरमध्ये १०औँ सहरका रूपमा पाटनलाई विकसित गर्ने निर्णय भएको थियो । यहाँ नयाँ सहरको काम भने कछुवा गतिमा रहेको छ । तोकिएको समयमै सरकारले विनियोजन गरेको बजेट कार्यान्वयन हुन नसक्दा नयाँ सहर विकास कार्यालयको काम सोचेअनुरुप अघि बढ्न सकेको छैन ।

गत आवमा आधा बजेटसमेत खर्च नभएपछि चालु आवमा बजेट घटेर आएको छ । चालु आवमा रु १२ करोड ९२ लाख बजेट आएको कार्यालयले जनाएको छ । केही पूर्वाधार सम्पन्न भइसकेको भए पनि नमूना सहरको झल्को दिने ‘ल्यान्डपुलिङ’ अर्थात् जग्गा एकीकरणका लागि जग्गाधनीले जग्गा उपलब्ध नगराउँदा काम अघि बढ्न सकेको छैन ।

जग्गा एकीकरण प्रक्रियामा स्थानीयले योजना सम्पन्न हुँदासम्म नयाँ सहरी विकासको कार्यालयलाई लालपुर्जासहित जग्गा हस्तान्तरण गर्नुपर्ने हुन्छ । त्यस ठाउँमा नयाँ सहरी विकासको कार्यालयले उपयुक्त बसोबासका लागि घर, खानेपानी, खेल्ने चौर, विद्युतीकरणदेखि सुविधा सम्पन्न भौतिक संरचना बनाएर त्यसपछि ती जग्गाधनीलाई नै हस्तान्तरण गर्ने कार्यक्रम हो । नयाँ सहर आयोजनाको मुख्य कामका रुपमा रहेको जग्गा एकीकरणको काम अघि बढ्न नसकेको नयाँ सहरी विकास आयोजनाको कार्यालयले जनाएको छ ।

पाटन बजार क्षेत्र आसपासका खसरबाटा, लोर्खा, बिठ्ठेउडा लगायतका क्षेत्रमा ल्यान्डपुलिङका लागि जग्गा छनोट गरिएको भए पनि कृषियोग्य जमिन नदिने जग्गाधनीले बताएपछि उक्त काम रोकिएको छ । एक लाखभन्दा बढी मानिसको बसोबास गराउने र आधुनिक सहरको सुविधासहित व्यवस्थित सहर बनाउने निर्णय हुँदा पाटनवासी निकै खुसी भएका थिए ।

नमूना सहर बनाउने घोषणा भएको १२ वर्ष बितिसक्दासमेत विकास निर्माणका कामले खासै गति लिन नसकेकामा निरासा छाउँदै गएको स्थानीय दिनेश विष्टको भनाइ छ । उनले भने, “पाटन सहरको काम सोचेअनुसार अघि बढ्न नसकेको र विकास निर्माणका कामले समेत खासै गति लिन नसक्दा निरासा छाएको छ, अनधिकृत संरचना हटाउन थालेपछि कामले गति लिने आशा पलाएको छ ।”

पाटन प्राकृतिक हिसाबले रमणीय ठाउँ हो । यसको चारैतिर डाँडाकाँडा र बीचमा मैदानी फाँट रहेको खेत छ । ऐतिहासिक रुपमा पनि पाटनलाई देवता र असुरबीचको लडाइँ भएको ठाउँका रुपमा चिनिन्छ । देवता र असुरबीचको लडाइँ भएकाले बीचमा बग्ने नदीको नाम सुर्नया रहेको किंवदन्ती छ । यो ऐतिहासिक सहरलाई आधुनिक बनाउने काममा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने पाटनका स्थानीयसमेत रहेका पाटन बहुमुखी क्याम्पसका प्रमुख उत्तम भण्डारीले बताए । रासस



प्रतिक्रिया दिनुहोस्