Logo

सांसद शाहीमाथि माओवादी नेता/कार्यकर्ताबाट आएको धम्कीले राप्रपाका सुशासन र युवा विभाग आक्रोशित, ७७ जिल्लामै प्रतिकार समूह गठन (भिडिओसहित)



काठमाडौं, ८ चैत्र । राप्रपाको सुशासन र युवा विभागले आफ्नो माउ पार्टीका सांसद ज्ञानेन्द्र शाहीलाई वाईसिएल र पूर्वजनमुक्ति सेनाले भौतिक आक्रमणको धम्की दिएको भन्दै निन्दा गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राप्रपाका ती विभागले आफ्नो पार्टीका सांसद शाहीमाथि भौतिक आक्रमणको धम्की कानूनी राज्यको उपहास भएको भन्दै धम्की दिनेहरुसँग नडराउने र प्रतिकारको चेतावनी दिएका हुन् ।

कार्यक्रममा राप्रपाका नेता रामकुमार शर्माले माओवादी नेताहरुलाई बन्दुकको धम्की नदिन चेतावनी दिए । माओवादीका बन्दुकका नालहरुमा खिया लागिसेकेको समेत उनले टिप्पणी गरे । खिया लागेको हतियारको आडमा आफूहरुमाथि धम्की नदिन उनको चेतावनी थियो । माओवादी नेता तथा कार्यकर्ताको धम्कीलाई आफूहरु प्रतिकार गर्न तयार रहेको पनि उनको उद्घोष छ ।

‘बन्दुकका नालहरुमा खिया लागिसकेको हुनसक्छ । खिया लागिसकेको हतियारले हामीलाई तर्साउने जंगली व्यवहारप्रति हामी प्रतिकार गर्न तयार छौं । हिजो नेपाली कांग्रेसका पक्षमा ०५२ सालको जनयुद्धको बीचमा फरक विचार राखेकै कारणले उहाँहरुको हत्या गरिएको कुरामा मानवअधिकार र अन्तराष्ट्रिय कानुन उल्लङ्घन हुन्छ कि हुँदैन पढ्न र बुझ्न पनि म उहाँहरुलाई आग्रह गर्न चाहन्छु,’– उनले भने ।

शाहीलाई हिजो राति माओवादीनिकट नेता÷कार्यकर्ताले फोनमार्फत ज्यान मार्ने धम्की दिएको उनको खुलासा छ । ‘उहाँ (ज्ञानेन्द्र शाही) लाई हिजो राती फोनमार्फत खुलमखुल्ला ज्यान मार्ने धम्की दिइएको छ । यो विषयमा म घोर भत्र्सना गर्न चाहन्छु,’–उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक स्थलमा दिएको अभिव्यक्तिको अदालतले अनुसन्धान गर्न पाउनुपर्ने उनले बताए । आफूहरु माओवादीका नेता कार्यकर्ताहरुसँग सबै प्रकारका वहस र प्रतिकार गर्न तयार रहेको उनले बताए ।

‘जनयुद्ध उहाँहरुले किन र के का लागि गरेको हो ? उहाँले खुलामञ्चमा बोल्नुभएको छ, पाँच हजारको जिम्मा म लिन्छु भनेर । त्यो दिनको वक्तव्यलाई अदालतले हेर्न र अध्ययन गर्न पाउने कि नपाउने र द्वन्द्वकालमा भएका अमानवीय घट्नामा न्याय दिनुपर्छ भन्दा प्रधानमन्त्रीको ठाडो निर्देशनमा हामीलाई चुनौति दिन्छन् भने हाम्रो पनि उहाँहरुलाई चुनौति छ, यो काठमाडौं क्षेत्रभित्र तपाईँहरु वैचारिक रूपमा वहस गर्न चाहनुहुन्छ कि हतियारबाट ?,’– उनले प्रश्न गरे ।

उनले समय परिवर्तित रहेको उल्लेख गर्दै अहिले हिजोको जंगली युग नभएको पनि स्मरण गराए । द्वन्द्वकालमा माओवादीले सोझा जनतालाई द्वन्द्वको पाठ सिकाएको बताए । हिजो जंगलमा गरिएका गतिविधि माओवादीले अहिले काठमाडौंमासमेत खुलमखुल्ला गरिरहेको उनको आरोप छ । माओवादीको युद्ध लोकतान्त्रिक गणतन्त्रका लागि होईन भन्ने कुरा ज्ञानेन्द्र शाहीलाई आएको धम्कीबाट प्रमाणित भएको उनले बताए ।

द्वन्द्वकालमा भएको घटना छ महिनामा टुंग्याउने भनेपनि १६ वर्षसम्म मुद्दा नटुंगिनु दुःखद् भएको उनले टिप्पणी छ । माओवादी नेताहरुले लोकतन्त्रमा न्याय माग्ने अधिकारसमेत जनतालाई प्रयोग गर्न नदिएको उनले बताए । द्वन्द्वकालमा भएका घट्नाको निश्पक्ष छानविन तत्काल हुनुपर्ने उनले बताए । साथै, उनले पीडितलाई न्याय र उचित क्षतिपूर्तिका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

राप्रपाका ललितपुर जिल्ला समितिका सचिव रघुवरराज थापाले अबका दिनमा धम्कीपूर्ण अभिव्यक्तिले कसैको बोली बन्द नहुने बताए । ज्ञानेन्द्र शाही राप्रपाको नेतामात्रै नभएर सबै युवाहरुको ढुकढुकी भएको उनको दाबी छ ।

‘अबका दिनमा कसैको बोली बन्द हुँदैन । अराजक र बेथिति र अन्यायका कुरामा अब चुप लागेर बस्न सकिँदैन । ज्ञानेन्द्र शाही राप्रपाको मात्रै नभएर आम युवाहरुको ढुकढुकी हुनुहुन्छ । उहाँ नेपालको भविष्य निर्माता हुनुहुन्छ,’– उनले भने ।

ज्ञानेन्द्र शाहीमाथि विभिन्न ठाउँमा भएका आक्रमणको घटनाले आफूहरुलाई अहिले पनि झस्काइरहेको उनले बताए । आफूहरुलाई धम्क्याउने माओवादी नेता कार्यकर्तालाई पानीमुनी गएपनि आफूहरुले नछाड्ने उनको चेतावनी रहेको छ ।

‘उहाँमाथि विगतमा भएका सुर्खेत, चितवनका घटनाले हामीलाई बेलाबेलामा झस्काईरहन्छ र अब वाईसिएलका नाममा र जनमुक्ति सेनाको नाममा हामीलाई धम्की आएमा उहाँहरुलाई हामी पानीमुनी गएपनि छोड्दैनौं,’–उनले भने ।

साथै, ७७ वटै जिल्लामा युवा प्रतिकार समूह गठन भइसकेको उनले बताए । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हुन भन्दा पनि पिटाइ खानुपर्ने अवस्था आएको उनले बताए । माओवादी विद्रोहमा भएका अमानवीय घट्नाको छानविनका लागि आवाज उठाउँदा ज्ञानेन्द्र शाहीमाथि धम्की आएको उनले बताए । अमानवीय र जघन्य अपराधका घटनामा कसैलाई पनि उन्मुक्ति दिन नहुने उनले बताए । अन्तर्राष्ट्रिय क्षेत्रमासमेत अमानवीय घटनालाई उन्मुक्ति दिने परम्परा नरहेको उनको भनाई छ ।

राज्यले अहिले अभियान्ताहरुलाई बोल्न नदिएर कठघरामा लगिरहेको उनको आरोप छ । माओवादीनिकट नेता÷कार्यकर्ताहरुको आफूहरुले पटक–पटक विभिन्न धम्की सहनुपरेको उनको भनाई छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन ललितपुरका संयोजक रविन घिमिरेले माओवादीका नेता÷कार्यकर्ताको धम्कीलाई प्रतिकार गर्न आफूहरु तयार रहेको उनले बताए । विद्यार्थी र युवाहरु माओवादीनिकट नेता/कार्यकर्ताको धम्कीलाई प्रतिकार गर्न तयार रहेको उनको भनाई छ ।
जनताको आवाज बोल्ने ज्ञानेन्द्र शाहीलाई भौतिक आक्रमणको धम्की आउनु आपत्तिजनक रहेको उनले बताए । माओवादीका नेताले राप्रपा र ज्ञानेन्द्र शाहीलाई धम्की दिने नभएर आफ्नै नेताहरुलाई धम्की दिनुपर्ने बेला आएको उनको भनाई छ ।

‘भोलिका दिनहरुमा धम्की हामीलाई होइन, राप्रपालाई र ज्ञानेन्द्र शाहीलाई होइन, आफ्नै नेताहरुलाई धम्की दिनुस् तपाईहरु । सकारात्मक काम गर्न सिकाउनुस्, न्यायको सिद्धान्त सिकाउनुस्, सामाजिक आर्थिक काम गर्न सिकाउनुस् । ती काम गर्नुभयो भने देश र जनताका लागि हित हुन्छ,’– उनले भने । माओवादीको विभिन्न संगठनले दिएको धम्कीलाई आफूहरु डटेर सामना गर्न तयार रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्