Logo

सत्तामा आलोपालो समानुपातिक निर्वाचन प्रणालीको ‘बायप्रोडक्ट’ होः राजेन्द्र श्रेष्ठ



काठमाडौं, ९ चैत । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले ११ दलीय सत्ता गठबन्धनलाई मान्य हुने गरी शक्ति बाँडफाँडको मापदण्ड तयार हुने बताएका छन् ।
‘अहिले नै मन्त्रिपरिषद् विस्तारमा सकस परेको भनिनहालौं । चैत ६ गते प्रधानमन्त्रीले विश्वासको मत लिएपछि हिजोबाट प्रारम्भिक छलफल सुरु भएको छ । हामी सबैलाई मान्य हुने गरी शक्ति बाँडफाँडको मापदण्ड तयार गर्दैछौं । संसद्मा रहेको संख्या, शक्ति, प्रभाव र गठबन्धन बनाउने भूमिकाका आधारमा बाँडफाँड गर्नुपर्छ भन्ने खालको मोटो सहमति गरेका छौं । हामी दुईचार दिनमै मन्त्री छनोट गरेर पठाउँछौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै श्रेष्ठले भने ।
उनले मधेस प्रदेशको सरकार अहिले परिवर्तन नहुने पनि दाबी गरे । उनले भने, ‘सरकार परिवर्तन सम्बन्धित प्रदेशको पार्टीको कुरा हो । मधेस प्रदेशमा मुख्यमन्त्री बनेको भरखर दुई महिना भएको छ । त्यसमा परिवर्तन गर्ने कुरा भएको छैन । हनिमुन पिरियड नै सकिएको छैन, अहिले कसरी सरकारको मूल्यांकन गर्ने ? अहिले जुन जुन प्रदेशमा गठबन्धनको सरकार छ, ती मुख्यमन्त्री कायमै रहन्छन् ।’
उनले समानुपातिक निर्वाचन प्रणालीको बायप्रोडक्ट सहमतीय प्रणाली भएको र त्यसले आलोपालो सत्ता नेतृत्व बाध्यता भएको पनि बताए । श्रेष्ठले भने, ‘धृतराष्ट्रलाई दुर्योधन जति खराब भए पनि सपुत लाग्छ । तर नेपालको संविधान ठीक ढंगले जारी भएकै छैन । बेलायती मोडलको शासन प्रणालीमा बहुमतको सरकार र अल्पमतको विपक्ष हुन्छ । समानुपातिक निर्वाचन प्रणालीका कारण सहमतीय शासन हुन्छ । अहिले पनि भएको त्यही हो ।’

 



प्रतिक्रिया दिनुहोस्