Logo

प्रचण्डको सान्दर्भिकता समाप्त भैसकेको छः एमाले नेता



काठमाडौं, ९ चैत । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री कर्ण थापाले सत्ता गुमे पनि जनताको साथमा आफ्नो पार्टीमात्र रहेको बताएका छन् ।
‘जनताको साथमा रहने पार्टी नेकपा एमाले मात्र हो । एमालेको न जनमत गुमेको छ, न जनताको भरोसा टुटेको छ । जनताले झन् बढी माया गर्ने परिस्थिति बनेको छ । हामीलाई अब प्रदेशका सरकार ढल्नेमा चिन्ता छैन । हामी आस्था र विश्वास ढल्ने कुराले चिन्तित छौं । को प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री बन्यो, को बनेन भन्ने भन्दा पनि सिंगो प्रणालीप्रति वितृष्णा बढ्ने स्थिति खतरनाक हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै थापाले भने ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सान्दर्भिकता समाप्त भएको आरोप लगाए । थापाले थपे, ‘अरु दलसँग विचार र दृष्टिकोण नै भएन । मिलिचुली बस्ने र बाँडचुँडी खाने मात्र संकल्प भयो । प्रचण्डमा वामपन्थी चेत र चेतना अनि निष्ठा छैन । अब प्रचण्डको सान्दर्भिकता समाप्त भयो । उहाँले भन्ने गरेको राष्ट्रिय सहमति पदप्राप्तिका लागि मात्र भयो ।’
नेकपा एमाले नेपाली कांग्रेससँग सहकार्य गर्न तयार रहेको पनि थापाले बताए । उनले भने, ‘राजनीति दर्शन र सिद्धान्तका आधारमा ध्रुवीकरण हुने हो भने एउटाको नेतृत्व कांग्रेसले गर्छ, अर्कोको नेतृत्व एमालेले गर्छ । साना दलले सत्ताको खेलोफड्को मात्र गरे भन्ने हो भने त्यसमा छलफल गर्न एमाले तयार छ ।’



प्रतिक्रिया दिनुहोस्