Logo

‘एकीकृत समाजवादीले गृह वा अर्थ मन्त्रालय किन नपाउने ?’



काठमाडौं, ९ चैत । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो पार्टी सत्ताको प्याकेजमा सहमतिको पक्षमा रहेको बताएका छन् ।
‘मन्त्रालय भागबन्डा अलिअलि समस्या भएकै हो । अलिकता समय लाग्छ । तर भोलिसम्म सबै कुरा मिल्छ होला । भोलि नभए पर्सि होला । तर हामी प्याकेजमै समाधानको पक्षमा छौं । यो प्याकेज भनेको केन्द्रमा मन्त्री बाँडफाँडमा मात्र होइन, प्रदेशको सरकार र अरु अवसरको बाँडफाँड पनि हो । त्यसैले हामी एक लटमा सँगै निर्णय लिऊँ भनिरहेका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै खतिवडाले भने ।
नेता खतिवडाले आफ्नो पार्टीले गृह वा अर्थ मन्त्रालय पाउनुपर्ने पनि बताए । उनले थपे, ‘हाम्रो बटम लाइन केही छैन । तर अर्थ वा गृह मन्त्रालय हामीले किन नपाउने ? यी महत्त्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्रालय हुन् । तर यो नभई हुँदैन भन्ने चिज होइन । त्यो मन्त्रालय चलाउँदा हाम्रो प्रभावकारिता हुन सक्छ भनेका हौं ।’
तर आफूहरु मन्त्रिपरिषद् विस्तारको बाधक नभएको पनि उनले औंल्याए । खतिवडाले भने, ‘बोल्नेबित्तिकै बाधक भन्ने हुँदैन । हामीजस्तो लचकदार कोही छैन । त्यो नपाए अर्को पाउला । तर त्यसमध्ये पहिले यस कारण पाउने, यस कारण नपाउने सिद्धान्त बन्नुपर्‍यो नि ।’
उनले सात प्रदेशमध्ये एउटा प्राप्त गर्ने पनि बताए । उनले भने,’ त्यो कोसी प्रदेश पनि हुन सक्छ । अरु पनि हुन सक्छ । अहिले नै कुन भन्ने ठ्याक्कै छैन । कोसी, बाग्मती र सुदूरपश्चिममा पनि दाबी गर्ने आधार छन् ।’



प्रतिक्रिया दिनुहोस्