Logo

मन्त्री मोदीलाई धमलाको प्रश्न- संकटको बेला पूर्वलडाकुलाई पैसा दिने निर्णय किन गर्नुभयो ?



काठमाडौं, ९ चैत्र । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले अहिलेको व्यवस्था परिवर्तनको देन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी आन्दोलनकै कारण नेपालमा महिला, दलित र पिछडिएका वर्गको हक स्थापित भएको बताएका हुन् ।

‘परिवर्तनको एजेण्डा सबै माओवादीको, महिला, दलितले अधिकार पाउने माओवादीकै कारणले । म थारुको छोरो म के हुन्थे भनेर कल्पना गर्छु कहिले काही । कुनै फ्याक्ट्रीमा काम गर्थे होला वा विदेश जान्थे होला । आज माओवादी आन्दोलनका कारण थारुको छोरो देशको मन्त्री बनेको छ । यो देन कसको रहेछ त ?’– उनले प्रश्न गरे ।
माओवादीको एजेण्डामा आएको परिवर्तन र व्यवस्थामा रहेर अहिलेको केही दलहरुले निरन्तर माओवादीकै विरोध गरिरहेको उनले बताए । केही राजनीतिक दलका नेता कार्यकर्तालाई माओवादीको विरोध नगरी दिन नै नवित्ने अवस्था सिर्जना भएको उनले बताए ।

साथै, तपाईहरुले माओवादीको अयोग्य लडाकुहरुलाई पैसा बाँड्नु भयो नि ? भन्ने धमलाको प्रश्नमा उनले देशको परिवर्तनका लागि जीवनको आहुती दिन तयार भएका पात्रहरुलाई सम्मान र समाजमा पुनर्स्थापनका लागि राज्य जिम्मेवार हुनुपर्ने बताए । ‘जसले जीवनको आहुती दिन पछि परेनन् । जसको बलिदानीको कारण यो व्यवस्था परिवर्तन भयो । ती समाजमा स्थापित हुनुपरेन ? उहाँहरुलाई चाहिँ समाजमा स्थापित गर्नु परेन ? व्यवस्था चाहिँ चाहिने तर ती पात्रहरुलाई सम्मान गर्न नसक्ने ? हामीले पूर्व लडाकुहरुलाई सम्मान र समाजमा बाँच्नका लागि हामीले केही रकम दिन लागेका हौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्