Logo

उपेन्द्र यादवलाई रोक्न बारा झरेका सिके राउत आक्रामक सुनिए, उपेन्द्रलाई दिए फिरंगीको संज्ञा



काठमाडौं, ९ चैत्र । जनमत पार्टीका अध्यक्ष सिके राउत उपेन्द्र यादवलाई संसद् छिर्न नदिने भन्दै फिल्डमा उत्रिएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राउतले नै यादवलाई सप्तरी–२ बाट पराजित गरेका थिए । चुनाव सम्पन्न भएको चार महिनापछि जसपाका अध्यक्ष यादव उपनिर्वाचनमार्फत संसद् छिर्ने तयारीमा छन् ।

उनको दलबाट बारा–२ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले बैशाख १० गतेलाई उपनिर्वाचन गर्नेगरि तयारी थालिसकेको छ। जसपाका अध्यक्ष यादव सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिन लागेको बेलामा जनमतका अध्यक्ष एवम् सांसद राउत भने यादवलाई हराउने रणनीतिका साथ बाराको कलैयामा उत्रिएका छन् ।

राउतले यादवलाई फिरंगीको संज्ञा दिएका छन् । र, बारा जिल्लामा कोही सपुत छैन् ? भन्दै प्रश्न गरेका छन् । उनले हिजो (बुधबार) पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै भनेका थिए–‘के बारा जिल्लामा कोही मान्छे छैनन् ? बारा जिल्लामा कोही माईकालाल जन्मिएको छैन र ? अनि यहाँ बाहिरको मान्छे यहाँ चुनाव लड्न आउने ? बारा जिल्लामा कोही राजनीतिक नेता छैनन् र ? अनि बाहिरको मान्छे यहाँ आएर चुनाव लड्ने ?

अब बारा जिल्लावासीका वीरहरुको लागि चूनौति थपिएको छ, अब फिरंगी उम्मेदवारलाई यहाँबाट हराएर पठाउनुपर्छ । यहाँ बारा जिल्लामा सिम्रौनगढ राज्य थियो, एक सय एक वीर जन्मिएका थिए । आज पनि यहाँ एक सय एक वीरहरु छन् । फिरंगी उम्मेदवारलाई हराएर विजयी हाँसिल गर्न सक्नेछन् ।’

राउतको अभिव्यक्ति बाहिरिएपछि जसपाका नेता तथा कार्यकर्ता आक्रोशित बनेका छन् । उनले राउतले अतिरञ्जना फैलाउनेगरि बोलेको भन्दै उनीहरुले आफूहरुले त्यसको जवाफ चुनावी मैदानबाट नै दिने घोषणा गरेका छन् । बारामा यादवको ठूलो समूदाय छ । file photo



प्रतिक्रिया दिनुहोस्