Logo

कांग्रेसभित्र युवा



  • सुदिप शर्मा

नेपाली कांग्रेस बहुमत प्राप्त गर्न सफल एक मात्र नेपाली दल हो। जसले तीन चुनावमा बहुमत ल्याएको छ। यसैगरी दुई चुनावबाट पहिलो दल बन्न सफल भएको इतिहास छ। मुलुक र जनताको विश्वासप्राप्त दल कांग्रेस लोकतन्त्र समृद्धि प्रति प्रतिवद्ध भएकाले देशको लागि अपरिहार्य भएको छ।

संविधान निर्माणदेखि राजनीतिक स्थिरता, आम निर्वाचन र गणतन्त्र संस्थागत गर्न कांग्रेसको नेतृत्वदायी भूमिकाले सम्भव भएको हो। कांग्रेस पार्टीको स्थापनाका समयमा विपि, सुवर्ण शमशेर, गणेशमान, किसुनजीसहितका नेताहरु युवा वयस्क हुनुहुन्थ्यो।

उनीहरु आफूपनि युवा भएकै कारण कांग्रेसलाई जनताको पार्टी बनाउन सफल भएका हुन्। कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको सहासिक र दुरगामी निर्णयका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको कुरा सर्वादित नै छ। यो यथार्थलाई नेकपालगायत कुनै पनि राजनीतिक शक्तिले नजरअन्दाज गर्न मिल्दैन।

विकट स्थानमा जन्मेका शेरबहादुर देउवाले आफ्नो जीवन गरिब, पिछडिएको समाज, जाति, वर्ग, देशको निम्ति समर्पण गरेका छन्। निडर, मनमा देश प्रेमको भावना भएका देउवा नेपालको प्रधानमन्त्री र एउटा ठूलो राजनैतिक पार्टीको प्रमुख ब्यक्ति बन्न सफल भएर मौजुदा नेपाली काग्रेसलाई परिपक्व अडानले राजनीतिक परिवेश सहि ठाउँमा टेकाईरहेका छन्। देशको राजनीतिलाई नेपाली कांग्रेसले ‘पोखरीमा माछा छ कि छैन’ सोचविचार नगरी सत्ताको बल्छी थाप्ने जस्तो अपरिपक्व कदम चालेको छैन। नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुन: चौथो पटक प्रधानमन्त्री बनेका थिए। उनकै पालामा नेपालमा नयाँ संविधान लागू भएपछिको पहिलो आम निर्वाचन सम्पन्न भएको थियो।

नेपाली कांग्रेस यो मुलुकको सबैभन्दा जेठो प्रजातान्त्रिक दल मानिन्छ। तर, तुलनात्मक हिसाबमा अन्य दलमा भन्दा यसमा युवाहरूलाई नेतृत्वदायी भूमिका प्रदान गर्नुको सट्टा युवाकै बलमा पुराना नेताहरू अगाडि बढिरहने प्रवृत्ति अझै पनि हाबी छ। साथै विद्यार्थी राजनीति र आन्दोलन गरेका अन्य दलका सहकर्मीहरू पार्टीमा माथि चढ्दै गर्दा नेपाली कांग्रेसका युवा पछाडि नै देखिन्छन्।

बूढाहरू नेतृत्वमा बसिरहे, युवाले मौका पाएनन् भन्नु सत्य हो। तर त्यो परिवर्तन गर्ने जिम्मा मूल रूपमा दलभित्र रहेका युवा जमातको नै हो। आफ्ना दलभित्र युवाहरूलाई बोलीहीन बनाउने अनि बाहिर युवाका शक्ति कहिले उठेर मद्दत गर्लान् भन्ने आशामा बस्नुमा कुनै अर्थ छैन। युवाहरु समाजका ऊर्जा शक्ति हुन्। ती उर्जाले केवल प्रश्न मात्र गर्दैनन्, आलोचनात्मक दृष्टिकोणबाट नयाँ मान्यता, मूल्य प्रणाली र सौन्दर्यबोधको अभिव्यक्ति गर्दछन्। नयाँ सत्यको उद्‌घाटन गर्दछन्। नयाँ समाज, अर्थतन्त्र र राज्य व्यवस्थाको निर्माण गर्न सङ्‌घर्ष गर्दछन्। यस्ता मानिसलाई तत्कालीन समाजको मूलधारले राम्रो मानेको, सहजै स्वीकार गरेको देखिन्न। युवाहरुले असल समाज र राष्ट्र निर्माणमा सदैव महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। हरेक देशको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनमा युवा शक्तिको जोस, जागर र परिवर्तन देखिन्छ। विश्व इतिहासलाई हेर्दा पनि विकासको सूचाङ्क बदल्ने समूह नै युवा हुन् चाँहे नेल्शन मण्डेला हुन् वा गान्धी र बिपी कोइराला नै किन नहुन उनीहरूकै युवा शक्तिको नेतृत्वले आफ्नो राष्ट्रको राजनीतिक परिवर्तन सफल भएका थिए।

नेपालमा २००७, २०३६, २०४६,२०६२/६३ जस्ता ऐतिहासिक आन्दोलनहरू युवाहरूको सहभागिता र अग्रसरताले नै सफल भएको पाइन्छ। बिडम्बना के छ भने हरेक परिवर्तनका आन्दोलनपछि देशले स्थायित्व पाउँला र राजनीतिक नेतृत्वमा युवाहरूको सहभागिता होला भन्ने युवाहरूको सपना चरम निराशामा परिणत हुँदै गएको छ।

नेपाली कांग्रेस पार्टीभित्रका युवाका सवालमा आशा गर्ने अवस्थापनि छैन। आमरुपमा हाल नेविसंघ, तरुण दलको सङ्गठन निर्माण र सङ्गठन सुदृढीकरणमा शिर्ष नेताहरुको दृष्टि परेको देखिदैँन। अबको कांग्रेस सबैको काग्रेस सबैको प्रतिनिधित्व र आवाज बोक्ने कांग्रेस बन्न एकले अर्कालाई श्रद्दा , सम्मान र माया गर्नुपर्छ।

(लेखक शर्मा नेपाली कांग्रेसका युवा नेता हुन्।)



प्रतिक्रिया दिनुहोस्