Logo

यात्रु अभावले उडान बन्द



काठमाडौं, चैत १० । निकै तामझामका साथ पोखराबाट भारतीय नाकासँग जोडिएका गन्तव्यमा सुरु भएको हवाई उडान रोकिन थालेका छन् । पोखरामा भारतीय पर्यटक तान्न सञ्चालन गरिएका उडानहरू यात्रु अभाव भएपछि रोकिन थालेका हुन् ।

पोखराबाट देशका ठूला सहरमध्ये धनगढी, विराटनगर, सिमरा र जनकपुरमा सुचारु भएका उडान यात्रु अभावको कारण देखाउँदै हवाई कम्पनीले पुनः उडान सुचारु गर्न चासो देखाएका छैनन् । यात्रु अभावकै कारण हालै मात्र बुद्व एयरले सुरु गरेको पोखरा–भद्रपुर उडान पनि रोकिएको छ ।

पोखरा विमानस्थलका प्रवक्ता जशोदा सुवेदीले पोखराबाट नयाँ गन्तव्यमा विस्तार भएका उडान पुनः सुचारु गर्न तीनै तहका सरकार, व्यवसायी र हवाई कम्पनीले भूमिका खेल्नुपर्ने बताईन् । उनले भनिन् “पछिल्लो समय दैनिक २५ सयको हाराहारीमा पोखरामा विभिन्न गन्तव्यबाट यात्रुको ओहोरदोहोर बढेको छ । उडान सङ्ख्यासमेत दैनिक सरदर २५ को हाराहारीमा पुगेकाले प्रदेश, स्थानीय, केन्द्र सरकार र निजी क्षेत्र मिलेर पर्यटन प्रवद्र्धनका कार्यक्रम थप सशक्त रूपमा अघि बढे यहाँको उड्डयन चलायमान हुन सहज हुन्छ ।”

पोखरा विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले हवाई यात्रुको आउजाउ घटेपछि ती गन्तव्यमा उडान सेवा रोकिएको बताए । उनले भने, “आन्तरिकसँगै विदेशी पर्यटकको आवागमनलाई लक्ष्य गरी सीमा क्षेत्र नजिकका सहरसँग पोखराको हवाई सम्पर्क स्थापित गरिएको हो । हाल बुद्ध एयर र तारा एयरले काठमाडौँबाहेक भरतपुर, भैरहवा, नेपालगञ्जमा दैनिक एक उडान गर्दै आएका छन् । त्यस्तै तारा एयर र समिट एयरले नियमित जोमसोम उडान गर्दै आएका छन् । उडान बन्द भएका गन्तव्यमा समेत पुनः सञ्चालन गर्ने तयारीमा हवाई सेवा कम्पनी छन् ।”

पर्यटकको चापलाई हेरेर विमान कम्पनीले उडान थपघट गर्ने, पुनः सुचारु गर्ने र नयाँ गन्तव्यमा उडान विस्तार गर्ने उहाँले बताए । हाल बुद्वले काठमाडौँ बाहेक नेपालगञ्ज, भरतपुर, भैरहवामा दैनिक एक र तारा एयरले नेपालगञ्जमा दैनिक एक उडान गर्दै आएको उनको भनाइ छ ।

हिउँदमा बन्द रहेको पोखरा–जोमसोममा नियमित उडान सुरु भएको छ । पुरानो विमानस्थलबाट दुर्गममा उडान हुँदै आएको जोमसोममा समिट र तारा एयरको दैनिक नौवटा उडान हुँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्